संसारभर कोरोनाको ओमिक्रोन भेरियन्टको त्राश

  • 2 months अगाडि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशले गरिब देशलाई खोप उपलब्ध गराउन अपिल गर्दै कोभिड–१९ को खतरा अहिले नै नरोकिएको चेतावनी दिए । यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्टबारे पत्ता लागेको हो । सुरुवाती प्रमाणको आधारमा नयाँ भेरियन्टको म्युटेशन निकै धेरै भएको र संक्रमणको खतरा धेरै नै भएको बताइएको छ ।

यो भेरियन्टबारे तुरुन्त जानकारी दिएकोमा दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ । हालसम्म नयाँ भेरियन्टका कारण कसैको पनि मृत्यु भने नभएको स्वास्थ्य संगठनले स्पष्ट पारेको छ । भेरियन्ट अफ कन्सर्नको सूचीमा पर्नुको अर्थ अब ओमिक्रोन पनि डेल्टा, अल्फा, बिटा र गामा भेरियन्ट झैं कोरोनाको सबैभन्दा चिन्ताजनक भेरियन्टमध्ये एक हो । यद्यपि, संसारमा हालसम्म सबैभन्दा धेरै विनास डेल्टा भेरियन्टले मच्चाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपालमा आउने यात्रुलाई अनिवार्य एक हप्ता क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि नेपालले अब अनिवार्य क्वारेन्टिन बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो नयाँ भेरियन्ट तीव्र रूपमा फैलन सक्ने डब्लुएचओले सङ्केत गरेको छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसैले त्यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएकाले डब्लुएचओले चुनौती थपिएको भन्दै चेतावनी दिइएको छ ।

दक्षिण अफ्रिकाबाट आउनेलाई विमानस्थलमा निगरानी र परीक्षण गरी क्वोन्टिन पठाउने स्वास्थ्य मन्त्रालयको भनाइ छ । यद्यपि कोरोनाविरुद्धको खोप लगाइसकेकालाई होटल क्वारेन्टिको अनिवार्यता नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।