सुधारक बन्ने नाममा पूर्व सेनापतिका अनेक नमुना !

  • 1 month अगाडि

३९औँ प्रधानसेनापतिको रुपमा पूर्णचन्द्र थापाले गरेका काम कति सफल र असफल रहे, त्यसबारे अहिले पनि जंगी अड्डामा चर्चा गरिँदै छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री अवकाशअघि एक महिना बिदामा बस्ने परम्पराअनुसार बिदामा बस्दा थापाले कायममुकायम महारथीको कार्यभार सम्हालेका थिए । उनले सेनाप्रमुख बनेर गरेको निर्णय नै विवादित बन्यो । त्यति बेला उपरथीका दुई पद खाली थिए । वरीयताक्रममा पहिलो नम्बरमा रहेका नैनराज दाहाललाई पन्छाएर थापाले रघु भण्डारी र नरेशचन्द्र भट्टलाई बढुवा गरिदिए ।

जंगी अड्डाले खुला विश्वविद्यालयमा पढेको दाहालको प्रमाणपत्र मान्य नहुने कारण देखाउँदै बढुवा रोकेको थियो । दाहालले आफूलाई अन्याय परेको भन्दै ०७५ भदौ २१ गते सर्वोच्च अदालतमा रिट नै हालेका थिए । यो पहिलो विवाद होइन, सैनिक नियमावलीको दफा ६ मा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएमा सूचना आएको १५ दिनभित्र बढुवा समितिको बैठक बसेर निर्णय गर्नुपर्ने प्रावधान छ । तर, थापा प्रधानसेनापति भएपछि रथी पद खाली थियो । थापाले नियमविपरीत अवधि गुजारेर पद खाली राखे भने आकांक्षीहरुले अवकाश पाएपछि आफूले चाहेको व्यक्तिलाई रथी बनाए । जबकि, उनले प्रधानसेनापति नियुत्त भएलगत्तै कसैको वृत्तिविकास एक दिन पनि नरोकिने घोषणा गरेका थिए ।

लकडाउनमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सेनामार्फत जीटूजी (सरकार–सरकार) विधिबाट खरिद गर्ने निर्णय १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकबाटै भएको सरकारले खुलासा ग¥यो । कोरोना संक्रमण बढेपछि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहललाई जिम्मेवारी दिएपछि सरकार विवादमा तानियो । गल्ती लुकाउन र सेनालाई दिएपछि अख्तियारको आँखाबाट बच्ने भएपछि सेनालाई दिइएको थियो । सो कदमको चौतर्फी विरोध पनि भएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्गको सुरुङ तथा पुल निर्माणको ठेक्का प्रक्रियाबारे नेपाली सेनासँग नौवटा प्रश्न सोधेको थियो । द्रुतमार्गको इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) ठेक्काको पूर्वयोग्यता निर्धारण गरेर ठेकेदार छनोट गर्ने प्रक्रियामा अनियमितता भएको आशंकामा अध्ययन थालेको समितिले खरिद प्रक्रियाका बारेमा सेनासँग नौवटा प्रश्न सोधेको थियो ।

विगतदेखि नै ठेकापट्टा, निर्माण, स्कुल, कलेज सञ्चालन तथा व्यापार, व्यवसायमा सेना सहभागी हुँदै आएको छ । स्वास्थ्य उपकरणको खरिदमा आएको विवाद होस् वा फास्टट्रयाकको निर्माणमा विवादमा तानिएको सेनाको छवि राम्रो र आम मानिसमा विश्वास जगाउन सुधारक कहलिएका सेनापतिले ध्यान दिन सकेनन भन्दै उतिबेलै आलोचना भएको थियो ।

उनका नातेदारको गुट छुट्टै छ । आफ्ना साढुभाइहरूलाई दोहोरो जिम्मेवारी दिएसँगै प्रधानसेनापति थापा विवादमा तानिए । राजेन्द्र कार्कीलाई नीति तथा योजना निर्देशनालय र रघु भण्डारीलाई सम्भार रथी विभागमा राखेका थिए ।

प्रधानसेनापति थापाले आफ्नो कोर ग्रुपभित्रका अधिकृतलाई दोहोरो जिम्मेवारी दिने गरेका थिए । सहायक रथी प्रेम शाहीलाई मिलिटरी एसिस्टेन्टसँगै विशेष सुरक्षा वाहिनीपतिको पनि जिम्मेवारी दिइएको थियो । शाहीको भूमिका सन्देहात्मक रहेको केही जर्नेलको गुनासो छ । थापाले शाहीलाई आफूलाई मन नपरेका जर्नेलहरूको रणनीतिक सुराकी गर्न लगाएको दाबी गर्ने स्रोत भन्छ, “उनकै कारण चिफसाब र जर्नेलहरूबीच फाटो आइरहेको छ ।”

केही जर्नेलहरूले आफूविरुद्ध प्रधानसेनापतिले जासुसी गरेर गोपनीयताको हकसमेत खोसेको गुनासो रक्षामन्त्री इश्वर पोखरेलसम्म पुर्‍याएका थिए । कतिसम्म भने सैनिक गुप्तचर संस्था (डीजीएमआई) लाई समेत सैनिक अधिकृतको जासुसीमा खटाइएको आरोप उनीहरूको थियो ।

प्रमुख सेनानीमा पदोन्नति हुनुअघि मेजर जयराम थापा सेनापतिका स्टाफ अधिकृत थिए । पदोन्नति हुनासाथ उनलाई सवारी शाखा (एमटी) को जिम्मेवारी दिइयो । सैनिक सवारीमा इन्धन व्यवस्थापन गर्ने यो शाखाको जिम्मेवारी अनुभवी कर्णेललाई दिइने गरिन्थ्यो । तर आफू निकटलाई जिम्मेवारी दिन उनले त्यसअघिका मान्यतालाई तोडिदिएका थिए। महासेनानी टंक भट्ट सेनापतिका सैनिक सहायक हुँदै उनलाई सिग्नल निर्देशनालयमा अर्को जिम्मेवारी पनि दिइयो । भट्ट उनै हुन्, जो लेबनान शान्ति सेनामा छँदा ५० हजार डलर घोटालामा मुछिएका थिए ।

फास्टट्रयाक आयोजनामा आफूले चाहेको परामर्शदातृ संस्था छनोट नहुँदा सेनाप्रमुखले ‘सर्ट लिस्ट’ भइसकेको प्रक्रिया नै रद्द गरिदिए । यसको नयाँ प्रक्रिया सुरु गर्नसमेत ढिलाइ गरियो । छनोटमा अनियमितता गरेको भन्दै आयोजना प्रमुख शरदलाल श्रेष्ठलाई निलम्बन गरी रथी शरद गिरीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गराए । तर छानबिनपछि ‘नियतसाथ कुनै बदमासी नभएको’ भन्दै उनलाई पुन: जिम्मेवारीमा फर्काइयो ।

सेनापतिले ठूला र अग्ला पुल निर्माणको ठेक्का सर्टलिस्ट पनि रद्द गरे । पुल, सुरुङ र सडक निर्माणमा कुनै काम नभएपछि बजेट खर्च हुने स्थिति भएन । प्रधानसेनापतिमा नियुक्त भएदेखि नै उनले फास्टट्रयाकमा आफूले रोजेको नेतृत्व नियुक्त गर्न चाहेका थिए । त्यसका लागि बाधक थियो, प्राविधिक उपरथी आयोजना प्रमुख हुने व्यवस्था । त्यही भएर सेनाले गैरप्राविधिकलाई पनि आयोजना प्रमुख बन्ने बाटो खुल्ने गरी कार्यविधि प्रस्ताव गरेको थियो । प्रस्तावमा आयोजना प्रमुखको नियुक्ति र हेरफेर प्रधानसेनापतिको अधिकार हुनुपर्ने उल्लेख थियो । तर रक्षा मन्त्रालयले यसलाई रोकिदियो ।

अन्तत: प्राविधिक समूहका सहायक रथी वा उपरथी आयोजना प्रमुख हुने र नियुक्ति प्रधानसेनापतिको सिफारिसमा रक्षा मन्त्रालयले गर्ने कार्यविधि मन्त्रिपरिषद्ले पारित गर्‍यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कान फुकेर प्रधानसेनापति थापाले मन्त्रिपरिषदबाट गराउने गरेका कतिपय निर्णय सोहि मन्त्रिपरिषदका केहि मन्त्रीले त पत्रिका हेरेर थाहा पाउथे ।

तत्कालिन रक्षामन्‍त्री पोखरेलले सेनाको कार्यशैलीलाई हिन्दी उखान ‘लकिरका फकिर’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए। फास्टट्र्याक निर्माणमा भइरहेको ढिलाइ प्रसंगमा यस्तो टिप्पणी गरेका थिए। भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा विवादित अभिब्यक्ति दिंदा पनि मौन बसेको आरोप खेपेका नेपाली सेनाका चिफ प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल समेतलाई साथमा लिएर सार्वजनिक खपतका लागि भारतले अतिक्रमण गरेको कालापानी नजिकको सिमा निरिक्षणमा निस्केका थिए ।

एउटा प्रधानसेनापतिलाई गुमराहमा राखेर राइँदाइँ चलाउने जर्नेलहरु अर्को प्रधानसेनापति आएपछि पनि सुख–सुविधामै रहन सम्भव छ । थापालाई दुईतिरबाट घेर्ने जर्नेल हुन्, अनन्त कार्की र प्रेमबहादुर शाही । यीमध्ये महेश बस्नेतका प्रिय अनन्त भक्तपुर गुण्डुका एमालेनिकट र प्रेमचाहिँ सुदूरपश्चिमका कांग्रेसहरुसँग बाक्लो सम्बन्ध भएका ।

विगतमा सेनाको विशेष फौजबाट खटाइने ‘इन्टिलिजेन्स’ का कारण फोनमा समेत बोल्न हिचकिचाउने अवकाशप्राप्त सेनाका उच्च अधिकारीदेखि बलालवालासम्म यतिबेला खुलेर बोल्न थालेका छन् । उनीहरुले सेनाभित्र अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा कसरी ‘सेटिङ–शासन’ चलेको थियो भन्ने बिषय अहिले आएर खुलाउन थालेका छन् । उनको कार्यकालमा मुख्यतह सेनाका चार उपरथी र दुई महासेनानीको हालीमुहाली रहेको र उनीहरु मार्फत नै अधिकांश सेनाका गतिविधी संचालन भएको यथार्थ खुल्न थालेको छ ।

आफुनिकटको बचाउ र आफु बिरुद्धका लागि कारबाहीको श्रृखंला चलेको सेनाभित्र यो अवधिमा भएका भ्रष्टाचार र थिचोमिचोको फेहरिस्त यतिबेला प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय र प्रधानसेनापतिको कार्यालयले केलाइरहेको छ ।

सैनिक मुख्यालय जंगी अड्डास्थित उच्च सैनिक स्रोतका अनुसार सेनाभित्रको एउटा समूहले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजाल र प्रधानसेनापति प्रभुराम शर्मालाई ६ पृष्ठ लामो उजुरी निवेदन दिएका छन् ।

सेनाका उपरथीत्रय अनन्त कार्की, प्रेम शाही र विनयविक्रम राणा तथा अवकाशप्राप्त उपरथी रघु भण्डारीलाई कडाभन्दा कडा कारबाहीको माग राख्दैं घटनाक्रम र त्यसलाई पुष्टिगर्ने आधार उजुरीमा उल्लेख गरिएको छ । यस्तै महासेनानीद्वय माधव थापा र लक्ष्मण थापादेखि अन्य सैन्य अधिकारीहरु बिरुद्ध पनि उजुरीमा उल्लेख गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मालाई सम्बोधन गरेर लेखिएको उजुरीमा नेपाली सैनिक वीरेन्द्र अस्पतालमा कमाण्डीङ्ग अधिकृत रहँदा उपरथी रघु भण्डारी (अप्रा) र उपरथी प्रेम शाहीहरुले औषधि खरिद, विभिन्न सामानहरु खरिद र निर्माण कार्यमा चरम लापरबाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको उल्लेख गरिएको छ ।

यस्तै उपरथी शाहीले आफू डिजिएमओमा बस्दा, रघु भण्डारी संभाररथीको कार्यालयमा रहँदा र उपरथी अनन्त कार्की नीति महानिर्देशक रहँदा पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापालाई अरु जनरलहरुको कुरा लगाएर नजिक भएको र पूर्वप्रधानसेनापतिलाई फकाएर रकम हिनामिना गरेको उजुरीमा उल्लेख छ ।

‘नेपाली सेनाको हिनामिना गरेको रकमले शाही, कार्की, भण्डारी र महासेनानी लक्ष्मण थापाले कैलालीको बुढीतोला ईलाकामा कालिज फार्म खोलेका छन्, झापामा कृषि फार्म खोलेका छन् र बारामा समेत निजहरुको लगानीमा ठूलो परिमाणमा जग्गा खरिद गरी बाख्रा पालन, माछा पालन गरेका र सो जग्गाको व्यवस्थापन गर्न पूर्व प्रमुख सेनानी रामबहादुर थापालाई जिम्मा दिएका छन् साथै ललितपुरको लुभु इलाका, महालक्ष्मीस्थानमा प्रेम शाहीले आफ्नो सालोको नाममा र रघु भण्डारीले छोरीको नाममा जग्गा खरिद गरिराखेका छन् ।

अनन्त कार्कीले मोरङ र सुनसरी इलाकामा कालो धनले जग्गा किनेर राखेका छन् । कार्कीसंगको सेटिङमा प्रेम शाहीले आफू पृतना कमाण्डमा जाँदा अत्याधिक धेरै रकमहरु प्रचलित नीति नियम र कानुन विपरीत निकासा गरी लगेको र सो रकम खर्च गर्दा टुक्रा टुक्रा टेण्डर निकाली बिल बनाएर खर्च गरेको र रकम हिनामिना गरेर बचत गरेको रकम रघु भण्डारी, अनन्त कार्की, प्रेम शाही र लक्ष्मण थापाको साथै महासेनानी माधव थापा मिलेर खाएका छन् ।’

शाही डिजिएमओ रहँदा प्रधानसेनापतिको कार्यालय (भूकम्पपछि बनाइएको, सभाहल नजिकको) लाई पुनर्निर्माण गर्न भनी ठूलो मात्रामा रकम (३ करोड रुपैयाँ) निकाशा गरेको, उक्त कार्यको लागि उनले कार्की, भण्डारी र मसे थापासँग मिलिभगत गरी ५ करोड बराबरको ठेक्का लगाएको, तर १ करोड बराबरको कार्य मात्र ठेकेदारबाट गराई बाँकी रकम आफै लिई गुड फर पेमेन्टमा राखी आफूलाई कमिसन दिने शर्तमा आफू अनुकूलको ठेकेदारलाई प्रयोग गरी अत्यधिक महंगोमा काम गराई प्र।से।प।को सहायक अड्डाको नामको रकममा रजगज गरी तत्कालीन संभार रथी रघु भण्डारी, म।से। माधव थापा, उर प्रेम शाही र उर अनन्त काकीले रकममा अनियमितता गरेको हुँदा सत्यतथ्य छानबिन गरी हदैसम्मको कारवाहीको माग उजुरीमा गरिएको छ ।

भण्डारी, शाही, कार्की र उपरथी विनय विक्रम राणाले लेवनानमा रहेको मिसनको कन्टिन्जेण्ट कमाण्डर महासेनानी कृष्णराज आचार्यलाई सेना दिवसमा खर्च गर्न भनी निकासा गरेको अमेरिकी डलर करिब १५ सयलाई खर्च नगरी नक्कली बिल बनाई खर्च गरेको नक्कली बोर्ड बनाउन गणका १ जना क्याप्टेन प्रेम खत्रीलाई गोप्य रुपमा लगाएर सो रकमको लेवनान बाट ४०० डलरको दरले ३ बटा गलैचा र बांकी रहेको रकमको केही प्लेट हरु ल्याएको र निजहरुलाई दिएको उजुरीमा उल्लेख छ ।

सह सेनानी प्रेम खत्रीलाई नमुनाको लागि भनी बनाएका बिलहरु र बोर्डको कागजातलाई नै किर्ते बनाएर प्रयोग भएको उजुरी उल्लेख छ । उक्त खरीद कार्यमा प्रमुखसेनानी प्रकाश लामिछाने, जितेन्द्र थापा र उमेश कार्की समेतको संलग्नता रहेकाले उनीहरुलाई सोधेमा सत्यतथ्य बाहिर निस्कने सुुझाव उजुरीमा दिइएको छ । सो उपहार कृष्णराज आचार्यले आफू सहायक रथीको प्रमोशन हुनको लागि रघु भण्डारी, अनन्त कार्की र विनय विक्रम राणालाई दिएको उजुरीमा उल्लेख छ।

‘यसरी खर्च नै नगरी नक्कली बोर्ड र बिल बनाएर चाकडी गर्ने कृष्णराज आचार्य र गर्न लगाउने रघु भण्डारी, विनय विक्रम राणा, अनन्त कार्की र प्रेम शाहीलाई समेत छानबिनको दायरामा ल्याएर कारवाही गरीपाँउ’, उजुरीमा भनिएको छ ।

यस्तै रघु भण्डारी संभाररथीमा रहँदा रकमको अत्यधिक घोटाला भएको उजुरीमा उल्लेख छ । घटनाक्रमका रुपमा अन्तरा स्पोटर्सलाई ४० हजार थान बुट खरीदको लागि रकम घोटला गरी नियमविपरीत कम रेटकोलाई नदिएको । केसी ट्रेडर्सलाई छालाको बुट गर्न नियम विपरीतको कार्य गरेकोमा हालसम्म पनि उक्त बुटहरु प्राप्त हुन नसकेको । नेपाली सेनाको सबै युनिटहरुको लागि वाटर ट्रिटमेण्ट प्लान्ट केन्द्रीय लेवलबाट खरिद गर्ने बहानामा सेटिङ मिलाएर करोडौं रकम घोटला गरेको । नेपाली सेनाको लागि राई स्टिमर खरिद गर्दा पहिला बालाजुमा बनेको नमुना देखाएर पास गराएको तर पछि चाईनिज ल्याएर बितरण गरी करोडौं रकम घोटला गरेको ।

शान्ति सेनाको लागि आवश्यक पर्ने सवारीसाधन तथा अन्य सामानहरु प्रधानसेनापति पूर्णचन्द्र थापाको सालो राजन रायामाझीमार्फत ठेक्का लगाई अकूत रकम हिनामिना गरेको । नेपाली सेनाको लागि आवश्यक पर्ने बुट खरिद प्रक्रियामा भएको घोटालाको सम्बन्धमा विभिन्न प्रमुुख पत्रिकाले नै कभर स्टोरीसहित समाचार प्रकाशित हुँदा समेत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना साढु भाईलाई उन्मुक्ति दिएको हँुदा सो बुट खरिद प्रक्रियामा भएको अत्याधिक रकम घोटालाको छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

उजुरीमा उल्लेख भए अनुसार बिगतमा शाही, भण्डारी, कार्की, मसे थापाहरु काठमाडौं र ललितपुरका विभिन्न होटलहरुमा गोप्य बैठक बस्ने, सिनियर रथीहरुको बारेमा अनैतिक रुपमा छलफल गर्ने, खबर संकलनको लागि इन्ट खटाउने, घरमा राखेको रनरहरु मार्फत गोप्य सूचना ल्याउने गरेको र प्रधानसेनापति पूर्णचन्द्र थापालाई खबर पु¥याउने गरेका थिए ।