राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा विजयी: कमल थापाको राजा प्रति दुखेसो !

  • 1 month अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए ।

लिङ्देनको जन्म भने वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।

लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने । ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् ।

पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।,’ उनको भनाइ छ ।

उनले लेखेका छन् ‍- प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।

हेर्नुस् केन्द्रीय सदस्यमा को विजयी भए ?