सैन्य प्रतिक्रियाको लागि तयार भएको नेटोलाई रुसको चेतावनी

  • 4 weeks अगाडि

रुसले अमेरिकाका सहयोगी मुलुकको संगठन नेटोले आफ्नो सुरक्षा चिन्ताको विषयलाई बेवास्ता गरे आफूहरु सैन्य प्रतिक्रियाको लागि तयार रहेको बताएको छ।

रुसका उपविदेशमन्त्री सर्गेई रेबकोभले यस्तो चेतावनी दिएका हुन्। सरकारी सञ्चारमाध्यम तासका अनुसार सोमबार रोबकोभले भने, ‘मैले भनेको छु कि नेटोले फेरि पनि रुसको चिन्तालाई बेवास्ता गर्‍यो भने सैन्य र सैन्य प्रविधिको तरिकाबाट जवाफ दिनेछौँ ।’

१७ डिसेम्बरमा रुसी विदेशमन्त्रालयले अमेरिका र नेटोको कानुनी सुरक्षा ग्यारेन्टीको प्रावधानबारे दुई रुसी मस्यौदा सार्वजनिक गरेको थियो। यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो विश्वसनीय दीर्घकालीन सुरक्षा ग्यारेन्टीबारे ठोस वार्ता सुरु गर्न आग्रह गरेका थिए।

यसअघि अमेरिकी गुप्तचर संस्थाले रुसले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताएको थियो। युक्रेनको सीमामा रुसका करिब एक लाख सैनिक तैनाथ गरिएको छ। युक्रेनमाथि आक्रमण गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पश्चिमा मुलुकले पछिल्लो समय तनाव बढाउने काम गरेको बताएका छन्। उनीहरुले कुनै पनि आक्रामक कदम चाले त्यसको आवश्यक जवाफ दिइने पुटिनको भनाइ छ।