आज रातिदेखि शुरु हुँदै युरोकप

युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबार रातिबाट शुरु हुँदैछ। प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो। एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ। कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ।

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ। युरोकप २०२० मा पहिलोपटक भिडियो सहायक रेफ्री (भिएआर) प्रयोग हुँदैछ।

प्रतियोगिताको विजेताले १० मिलियन युरो प्राप्त गर्नेछ। उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन यूरो दिइनेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ। समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ, बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ। युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा विजेताले ३४ मिलियन युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछ।

समूह विभाजन
समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..