३४ खेलमा अपराजित इटाली युरो च्याम्पियन : रोनाल्डोलाई गोल्डेन बुट

इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । उनले ३ गोल पेनाल्टीको सहायतामा गरेका हुन् । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।

फाइनलमा उनले दुई पेनाल्टी प्रहार समेत रोकेका थिए । स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनी नायक बनेका थिए । जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए । उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..