कोपा उपाधीका लागि भिड्दै दुई महारथी : कसले मार्ला बाजी ?

कोपा अमेरिका फुटबलकाे ४७ औं संस्करणको उपाधिका लागि आयोजक ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । आइतबार बिहान ५:४५ मा हुने खेलमा दुवै टोलीको लक्ष्य उपाधि जित्ने हुनेछ ।

रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुने खेलमा मेस्सीलाई राष्ट्रका लागि पहिलो उपाधि जित्ने अवसर छ । बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका मेस्सीले ६ पटकको बालोन डे ओर विजेता हुन् ।

मेस्सीले सन् २००८ मा चीनमा भएको ओलम्पिकमा फुटबल तर्फको स्वर्ण पदक जितेका थिए । तर फुटबलका अन्य प्रतियोगिता भने जितेका छैनन् । अर्जेन्टिनाका लागि उनले पहिलो उपाधि जिताउने अवसर आइतबार बिहान हुनेछ ।

अर्जेन्टिना विरुद्ध मैदान उत्रदा ब्राजिल लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ । अर्जेन्टिनालाई पराजित गर्न सके ब्राजिलको कोपा अमेरिकाको १० औँ ट्रफी हुनेछ । ब्राजिलका स्टार खेलाडी उपाधि आफ्नाे टाेलीले जित्ने दाबी गर्दै आएका छन् । गत सिजन ब्राजिलले उपाधि जित्दा नेयमार चाेटका कारण मैदान बाहिर थिए ।

दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको थियो । लिओनल मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

तर मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता यी दुई टोली २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा भिडेका थिए । उक्त खेल ब्राजिलले २–० ले जितेको थियो ।

समग्रमा हेर्दा अर्जेन्टिना अघि रहे पनि मुख्य प्रतियोगिताको पछिल्लो ५ खेलमा ब्राजिल अर्जेन्टिनाविरुद्ध अपराजित छ । यो सबै खेल कोपा अमेरिकाका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..