आज ९५ औँ स्थानको जोर्डनसँग भिड्दै नेपाल

कतारमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ अन्तर्गत कुवेत सिटीको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने दश बजे यी दुई टोलीको खेल शुरु हुनेछ।

घरेलु मैदानमा खेल्नुपर्ने खेल नेपालले कोरोना महामारीको कारण ‘न्युट्रल भेन्यु’ का रुपमा कुवेतमा खेलिरहेको छ। समुह चरणका ८ मध्ये ६ खेल खेलिसकेको नेपालले अब दुई खेल खेल्न बाँकी छ। नेपालले सातौँ खेल जोर्डनसँग खेल्न लागेको हो। जोर्डनको भने यो छैटौँ खेल हो।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो। चौथो स्थानमा रहेको नेपालका लागि आठ टिम सहभागी समूहको उत्कृष्ट ४ भित्र पर्न जोर्डनसँग जित निकाल्नु पर्नेछ। फिफा वरियतामा जोर्डन ९५ औं स्थानमा छ। यता, नेपाल १ सय ७१औँ स्थानमा। नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउन सकेको छैन।

नेपालले चाइनिज ताइपेइलाई छनोट खेलको दुवै प्रतिष्पर्धामा समान २-० ले हराएको थियो। यस्तै, पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो हार व्यहोरेको थियो। यस्तै, कुवेतसँग दोस्रो खेल १-० ले गुमाएको थियो। अष्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..