annapurna add

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ ।

kundanविसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए ।

उहाँको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उहाँलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताउनुभयो । बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आउनुभएका सिंह निकै मेधावी हुनुहुन्थ्यो ।

चारपाँच वर्षकै उमेरमा मातापिता गुमाउनुभएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आउनुभएको थियो ।

धनुर्मास पूजापछि पशुपतिनाथको ढोका बन्द
पशुपतिनाथलाई जाडोबाट जोगाउन २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिएको थियो । पूजा सकिएसँगै मन्दिरको मूलढोका बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

आज बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न भएको छ ।

पुस १५ देखि पुस २९ गतेसम्म सौर र चान्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पूजामा पशुपतिनाथका मूलभट्ट, पशुपतिनाथ अमालकोट कचहरीका द्वारेलगायत सहभागी हुनुभएको जनाइएको छ । धनुर्मास पूजा सकिएपछि आज बिहान ६ः०० बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको प्राध्यापक पौडेल बताउनुहुन्छ । विगत वर्षमा धनुर्मास पूजामा विशेष पूजा गर्ने भक्तजनबाट रसिद काटेर गराइने गरिएकामा यस वर्ष पूजाको विधि पूरा गरी अन्य भक्तजनको पूजा नगराइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

पूजापछि भगवान् शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उहाँले सुनाउनुभयो । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ ।

गैँडाको ‘केटी’ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो ।

पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो । गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७÷०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।

फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।

मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी ¥युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उहाँले बताउनुभयो ।

देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो ।

बिरामी रहेका अन्य बाख्रा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।

पिपिआर सरुवा रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ ।

बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधोपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...