बजेटमा दैलोका सरकार : कृषिमा आत्मनिर्भर, पर्यटनको प्रचार

स्थानीय तहहरुलाई जनताका घरदैलोकै सरकारका रुपमा लिइन्छ । यी सरकारहरुले हालै प्रस्तुत गरेका आगामी वर्षका बजेट तथा कार्यक्रमहरुका बारेमा यतिखेर देशव्यापी रुपमा नै विश्लेषण भइरहेको छ । बागलुङमा पनि स्थानीय तहका सरकारले ल्याएका बजेट र कार्यक्रमहरुको चर्चा एवं छलफल जारी छ ।

बागलुङको आर्थिक विकासका आधार कृषि, पशुपालन र पर्यटन हुन् । जिल्लाको कुल भूभागको आधाजति खेतीयोग्य जमिन रहेको छ भने स्थापित र नयाँ पर्यटकीय गन्तव्यहरुको विकास गरेर बागलुङले आर्थिक समृद्धिको बाटो लागेको छ ।

भूगोल अनुसार यहाँ थरिथरिका खेती हुन्छन् । बेसीमा धानखेतीदेखि लेखमा भाँगो खेतीसम्म बागलुङमा हुने गरेको जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना बताउनुहुन्छ । कोरोनाको कहरका बीच बागलुङका स्थानीय तहले कृषि, पशुपालन र पर्यटन प्रबद्र्धनका कार्यक्रमलाई अग्रभागमा समावेश गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

बागलुङ नगरपालिकाले कृषि बाली तथा वागवानी विकास कार्यक्रमका लागि रु ८६ लाख बिनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम र कृषि विकास रणनीतिक कार्यक्रमका लागि रु ४८ लाख र रायडाँडा विशेष कार्यक्रमका लागि रु २५ लाख विनियोजन गरिएको उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

पशु विकास कार्यक्रम, सहकारीहरुको प्रबद्र्धनका लागि समेत बजेट छ । एक घर एक फलफूलका बिरुवा कार्यक्रम बागलुङ नगरले ल्याएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम महत्वका साथ अघि सारिएको खड्काले बताउनुभयो । बलेवा भैरवस्थान, पञ्चकोट, मदन आश्रित पार्क सुधार कार्यक्रम, वीरेन्द्र ऐश्वर्य पार्क पुनः संरचना र भकुण्डे पर्यटन प्रवद्धन गर्ने योजना बजेटमा समावेश भएको छ ।

ताराखोला गाउँपालिकाले कृषि र पशुपालनलाई व्यवसायिक बनाउने कार्यक्रम ल्याएको छ । पर्यटन पूर्वाधारको निर्माण, प्राकृतिक स्रोतहरूको समुचित उपयोग, कृषि र पर्यटनबाट रोजगारी सृजना गर्दै गरिबी निवारणतर्फ जोड दिन ‘कृषि, वन, खनिज, उद्यमशीलताको लागि सबल पूर्वाधार, समृद्ध र समन्यायिक ताराखोला विकासको मूल आधार’ भन्ने दीर्घकालीन योजना र बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ।

‘‘ताराखोला कृषि बगैंचाः युवालाई रोजगारी; उत्पादन थरीथरी’’ कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषकहरुलाई कृषि औजार खरिद तथा अनुदान वितरण गरी कृषिमा आधुनिकीकरण गर्ने गाउँपालिकाले नीति लिएको छ । फलफूल विरुवा रोप्ने, किसान सूचिकरण कार्यक्रम, माटो परीक्षण कार्यक्रमहरुलाई निरन्तरता दिने ताराखोलाले जनाएको छ । साना किसान व्यावसायिक उत्पादन केन्द्र (पकेट), बाख्राको पकेट विकास कार्यक्रमलगायत अन्य पकेट कार्यक्रम र फलफूल दशक मनाउने गरी बजेट बिनियोजन भएको छ ।

पर्यटन प्रवद्र्धन गर्न आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले गण्डकी प्रदेशमा ताराखोला गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा सूचिकृत गर्ने कार्यक्रम रहेको उपाध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाको प्रमुख पर्यटकीय स्थलहरु वारेखोला सिउरे, सलसले सिद्धथान, भाटा, मानो कालिलेक, टुलेचौर, कान्छी देउराली मोतीमारे, अर्शललगायतका स्थानमा पदमार्ग निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । करिमेलालाई नमूना पर्यटकिय गाउँको विकास गरी ‘स्टोन भिलेज’ को रुपमा पहिचान कायम गर्न रु १५ लाख रकम विनियोजन गरिएको छ

तमानखोला गाउँपालिकाले आर्थिक विकासको लागि कृषिमा आधुनिकीरण र व्यावसायीकरण गरी उत्पादकत्व बृद्धि गर्ने नीति ल्याएको छ । कृषिमा यान्त्रिकीकरण प्रवद्र्धनका लागि आधुनिक कृषि यन्त्रहरुको प्रयोगलाई प्रोत्साहन गर्न अनुदानको कार्यकम सञ्चालनका लागि बजेट विनियोजन भएको छ । बाली विकास कार्यक्रममार्फत् उन्नत जातको खेतीको विकासको लागि उन्नत बीउ, बिरुवा वितरण र व्यावसायीक खेतीसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । रासायनिक मल तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याई प्राङ्ग्रारिक खेतीलाई प्रवद्र्धन गर्नका लागि कृषकहरुलाई मलखाद व्यवस्थापन तथा जैविक विषादीको प्रयोग सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न तमानले बजेट ल्याएको छ । भू–बनोट र सम्भाव्यताका आधारमा फलफूल खेतीको विकासका लागि स्याउ, ओखर, किवी, कागतीको विरुवा वितरण र फलफूल खेतीसम्बन्धी तालिम सञ्चालनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

तमानखोला गाउँपालिकाभित्र रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको संरक्षण तथा सम्बद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम तमानको पनि रहेको छ । बराहताल संरक्षण, सोले सहिदपार्क निर्माणको कामलाई प्राथमिकता दिइएको बुढाले बताउनुभयो । जैमिनी नगरपालिकाको आर्थिक विकासको मुख्य मेरुदण्डको रुपमा पनि कृषि तथा पशु पालनलाई लिइएको छ । कृषिवाट सम्बृद्धि तथा कृषिबाट गरिबी निवारण जस्ता कार्यक्रमलाई नगरले प्राथमिकतामा राखेको छ । कृषि र पशु सेवाका लागि एक वडा एक प्राविधिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख छ । एक गाउँ एक उत्पादनका लागि पकेट तथा ब्लक कार्यक्रम, कफि, कागती, सुन्तला, अलैँची र मह खरिद तथा ब्यवस्थापन कार्यक्रमको क्षेत्र विस्तार, लसुन, प्याज, अदुवा, वेसार र टिमुरलाई समेट्ने गरी कार्यक्रम ल्याइएको उपप्रमुख लिला रानाले बताउनुभयो ।

नगरप्रमुख पशु परियोजना, नगर प्रमुख कृषि परियोजना र कृषि पशु आयोजना सञ्चालन गर्ने महत्वकांक्षी कार्यक्रम नगरले ल्याएको छ । मोडेल फर्मको रुपमा कृषि र पशु विकासका कार्यक्रमलाई विस्तार गर्दै लगिने बजेटमा उल्लेख छ । वेसहारा महिला पुरुषलाई जिवीकोपार्जनमा टेवा दिनका लागि कृषिसँग आबद्ध गरेर जिवीकोपार्जनका लागि पूँजी उत्पादन गर्ने शर्तमा वेसहारा महिला पुरुष तथा एक्लो महिला विशेष आर्थिक अनुदान कार्यक्रम सञ्चालन ल्याउने भएको छ । साना सिँचाइ कार्यक्रम, थोपा टनेल, एक घर एक टनेल र प्लाष्टिक पोखरीजस्ता कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिएको छ ।

बाढी पहिरो चट्टयाङ जस्ता प्राकृतिक प्रकोप तथा अन्य प्रकोपबाट हुने कृषि÷पशुजन्य क्षतिको राहत व्यवस्थापनका लागि बजेट बिनियोजन भएको छ । स्थानीय रैथाने बाली तथा स्थानीय पशु संरक्षण कार्यक्रम सञ्चालन गर्ने, कृषि तथा पशुजन्य पदार्थ उत्पादनको बजार व्यवस्थापनको लागि नेपाल सरकारको गुणस्तर र मापदण्डभित्र रही बिक्री बितरण गर्ने कार्यलाई थप व्यवस्थित गर्ने नगरले जनाएको छ ।

प्रसिद्ध जैमिनीधाम, थनथापीमाई भगवती मन्दिर, गाजाको दह, हाडिकोट क्षेत्र, गणेशस्थान, हात्तिढुंगा, गाजाको दह क्षेत्र, कमल जैसी मन्दिर, राधाकृष्ण मन्दिर, पुरानो गाउँ क्षेत्र, शालिग्राम संरक्षित क्षेत्र गाइथुने, देवी मन्दिर चोखेक, सति मन्दिर जैदीजस्ता आस्थाका प्रसिद्ध धरोहरहरु एवं कालापातल राङ्खानीलगायतका नगरक्षेत्रका विभिन्न स्थानमा रहेका खानी निर्मित सुरुङहरु जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिन नगरले बजेटको व्यवस्था गरेको छ ।

जैमिनी धाम, पुरानो गाउँ, हाडिकोट, गाजादह, भैरवस्थानलगायतका प्रसिद्ध एवं रमणीय स्थलहरुलाई एकीकृत गरी पर्यटकीय पदैल मार्गको निर्माण गर्दै पर्यटन रुट गराउन आवश्यक पहल गर्ने र यसै वर्षभित्र जैमिनी नगरपालिकाको पर्यटन प्रोफाइल तयार गर्ने नीति तथा कार्यक्रमहरु पनि यस बजेटमा समेटिएको छ ।

बडिगाड गाउँपालिकाले खाद्यान्न उत्पादन बृद्धि तथा कृषि उपज भण्डारणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । भौगोलिक अबस्थिति र वातावरणअनुसार व्यावसायीक खेती तथा पशुपालनको लागि बजेट व्यबस्था गरेको उपाध्यक्ष अम्बरबहादुर श्रीषले बताउनुभयो । पशु आहारा मिसन, मासु मिसन कार्यक्रममा बजेट, साना तथा गरिब किसानहरुलाई लक्षित गरी बाख्राका पाठी वितरण, करेसा बारी स्थापना, मिनि किट वितरणमा बजेटको व्यबस्था गरिएको छ । मध्यमस्तरीय प्रविधियुक्त फलफूल नर्सरी स्थापनाका लागि बजेट, राष्ट्रिय तथा स्थानीय महत्वको खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली बस्तुको साना व्यावसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्न बजेटको व्यबस्था गरिएको छ ।

उपयुक्त भौगोलिक तथा वातावरणीय सम्भाब्यता भएका स्थानमा आलु पकेट कार्यक्रम, स्थानीय रैथाने जातको बाली प्रबद्र्धन कार्यक्रम, व्यावसायीक पशुपालन गर्ने कृषकलाई केहि अनुदान दिने, बंगुर साना व्यावसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको लागि बजेटको व्यवस्था मिलाएको श्रीषले बताउनुभयो । पर्यटन प्रबद्र्धनको क्षेत्रमा गाउँपालिकाले पोखरी निर्माण, पदमार्ग निर्माणदेखि खेलकूद पर्यटनको हव गाउँपालिका बनाउने उल्लेख गरेको छ ।

काठेखोला गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम ल्याएको छ । वडाको भूबनोट, माटोको उब्जनी शक्ति र बसोबासीको चाहना तथा परम्परागत खेती बालीअनुसार वडाहरुमा खेती शुरु गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । पर्यटन क्षेत्रमा गाउँपालिकाले एक वडा एक पर्यटकीय स्थलको पहिचान गरी प्रचार प्रसार र प्रबद्र्धनको कार्यक्रम ल्याएको छ । गाउँपालिकाको डिजीटल प्रोफाइल तयार गरेर सोहीअनुसारको प्रचार गर्ने नीतिमा उल्लेख छ ।

बरेङ गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रबाट नै स्वरोजगारी सिर्जना गर्ने नीति बनाएको छ । खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि खेती प्रणालीमा सुधार, एक घर एक करेसाबारी कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । दुध, अलैँची, आलु र भैँसी, बाख्रा र कुखुरा पालनलाई प्रोत्साहित गर्दै निर्यातमुखी उत्पादनमा जोड दिइएको अध्यक्ष शर्माले बताउनुभयो । File photo

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..