‘समुन्नत पर्यटकीय पोखरा’ का लागि योजना

पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरा नारासहित त्रिवर्षीय आवधिक योजनामा पर्यटनलाई प्राथमिकतामा राखेको छ । पर्यटकीय हिसाबले निकै महत्व राख्ने पोखरालाई दिगो र द्रुत विकासका लागि दूरदृष्टिका साथ तयार गरिएको योजनामा समाजवादको आधारशीला निर्माणको प्रयास गरिएको छ ।

महानगरपालिकालाई पर्यटन केन्द्रका रुपमा विकास गर्न पर्यटन नीति तथा आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गरिने कुरामा जोड दिँदै विकासका प्राथमिकताका क्षेत्र तथा नीतिमा साहित्य, कला संस्कृति, पर्यटन प्रवद्र्धन तथा उद्यम विकासलाई राखिएको छ । महानगरभित्रका सबै भाषाभाषी तथा कला, संस्कृति, साहित्य, धर्म तथा सांस्कृतिक धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका खेल्ने उल्लेख छ ।

सांस्कृतिक तथा पर्यटनको लक्ष्यमा बदलिँदो परिवेशमा पर्यटन व्यवसायलाई नयाँ तरिकाले विकसित गरी पोखरालाई ज्ञानविज्ञान, ध्यान, संस्कृति, मनोरञ्जनसहितको आधुनिक पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गरी विश्व मानचित्रमा पर्यटन केन्द्रका रुपमा विकास गर्ने जनाइएको छ ।

त्रिवर्षीय आवधिक योजनाले जनताको सहभागितामा समग्र महानगरपालिकाको आमूल रुपान्तरण गरेर नेपालको संविधानले परिकल्पना गरेअनुसारको समाजवाद उन्मुख समाजको निर्माण गर्ने लक्ष्य लिएको पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवधिक योजनाको लक्ष्यमा नीला ताल, समृद्ध संस्कृति, सुरक्षित सहर, वैज्ञानिक दृष्टिकोण, उत्थानशील तथा समावेशी भौतिक पूर्वाधारमा जोड दिइएको छ । आयोगले तयार गरेको आवधिक योजनामा ३५ योजनाका विषय र त्यसका विषयग क्षेत्रलाई समेटिएको छ ।

यसको उद्देश्यमा पर्यटनको लागि आवश्यक विधि, विधान र पूर्वाधार संरचनाको विकास एवं विस्तार गर्ने पोखरालाई विश्व पर्यटन गन्तव्यको केन्द्रका रुपमा विकास गरी आर्कषक रोजगारी तथा आयआर्जनका अवसर विस्तार गर्ने रहेको छ । त्यसैगरी महानगरपालिकामा पर्यटन महाशाखा र पर्यटन परिषदको स्थापना गर्ने, महानगरपालिकाको सम्भावनालाई प्रष्फुटन गर्न पर्यटन गुरुयोजना तयार गर्ने, पर्यटन व्यवसायीलाई सङ्गठित गरी पर्यटन व्यवसायी, महानगरपालिका, सहकारी र नागरिकको सहभागितामा वित्तीय संस्थाको स्थापना गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, नयाँनयाँ पर्यटन गन्तव्य र पर्यटन उत्पादनको विकास गर्न सम्भावित सूची तयार गरी विस्तृत परियोजना तयार गर्ने, सङ्घ, प्रदेश, गैसस, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग साझेदारी गरी सम्भावित पर्यटन गन्तव्य र उत्पादनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना तयार गर्ने उक्त त्रिवर्षीय योजनामा उल्लेख छ ।

त्यसैगरी पर्यटन शक्तिको विकास गर्न र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने जनशक्तिको नियमित रुपमा सीप, क्षमता तथा दक्षता विकास गर्ने संयन्त्र तयार गर्ने, महानगरपालिका र विदेशी तथा स्वदेशी महानगरपालिका एवं नगरपालिकासँग भागिनी सम्बन्ध स्थापना गर्ने, पोखरामा अन्तर्राष्ट्रियसभा सम्मेलन गर्न विभिन्न सरोकारवालासँग सहकार्य गर्ने रणनीति रहेको योजनामा उल्लेख छ ।

योजनाको कार्यक्रम कार्यविधि तथा क्रियाकलापलाई पनि विषयगत रुपमा समेत खुलाइएको छ । महानगरपालिकाको विस्तृत पर्यटन परियोजना तयार गरी दक्षिण एशियाको विशेष पर्यटकीयस्थलका रुपमा विकास गर्ने, घरबस्तीको सौन्दर्यकरण गर्ने, बाटाको दाँयाबाँया बिरुवा रोप्न, खोलाको किनारामा बाँस एवं वृक्षरोपण, सार्वजनिक शौचालय आदिको व्यवस्थापन गर्ने, उद्यम तथा उद्यमशीलता विकासका लागि आवश्यक नीति तथा स्रोतको व्यवस्था गर्ने वातावरण निर्माण गरिने, महानगरपालिकाभित्रका कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन गरेर व्यावसायिक विकासका लागि समूह गठन गरी परिचालन गर्ने योजनामा छ ।

नागरिक र महानगरपालिकाको संयुक्त सहभागितामा सहकारी, लघुवित्त, पोखरा पूर्वाधार विकास निगम तथा पब्लिक लिमिटेड कम्पनीमार्फत पूँजी निर्माण गरी नागरिकको सीप, दक्षता तथा साङ्गठनिक सवलीकरण एवं आधारभूत भौतिक पूर्वाधारको निर्माण गरी श्रममा आधारित अर्थतन्त्रलाई ज्ञानमा आधारित अर्थतन्त्रमा रुपान्तरण गरी उद्यम व्यवसाय तथा कृषि, पशु, वनलगायतका सबै खाले उत्पादनलाई आधुनिकरण गरेर उद्यमशीलता विकास तथा बजार सुनिश्चितामार्फत वातावरणमैत्री आर्थिक, सामाजिक तथा सांस्कृति रुपमा समृद्ध महानगरपालिका बनाउने लक्ष्य राखिएको छ ।

महानगरपालिकावासीमा समर्पित सो गुरुयोजना तयार गर्न विविध पक्षमा सहयोगको अपेक्षा गरिएको महानगरका उपप्रम्ख एवं योजना सहजीकरण समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । उहाँले नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रही महानगरपालिकाको दिगो र द्रुत विकासका लागि यो नै विकासको पहिलो मार्गचित्र भएको बताउनुभयो ।

सङ्घीय सरकारको १५औँ पञ्चवर्षीय योजना, गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना (२०७७/७७ देखि २०८०/८१) सम्मका उद्देश्यलाई दृष्ट्रिगत गरी पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मावन संशेधन विकासका माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताउनुभयो ।

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध
निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।

ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।

प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो ।

फ्याउरे सिँचाइ आयोजना सम्पन्न
इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाई आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

रु १५ करोड तीन लाखमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरिएसन भई जम्मा रु १६ करोड ९१ लाखमा आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यावसायि टङ्क गजुरेलले बताउनुभयो ।

आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ । ढिलैगरी सम्पन्न भए पनि योजना निर्माण भएको र सिँचाइ आयोजनाबाट निरन्तर पानी आएमा नगरपालिकाका तीन वडामा हिउँदेबाली लगाउन किसानलाई फाइदा पुग्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । प्रदेशसभा सदस्य धीरेन शर्मा रमणले आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताउनुभयो ।

पहाडी जिल्ला इलामको यो भाग जिल्लाको तल्लो क्षेत्र भएकाले तराईमा झैँ उब्जनी हुन्छ । यहाँ तराईसँग जोडिएको क्षेत्र भएकाले पनि उत्पादन बढी हुने गरेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव कुमालले अब यस आयोजनालाई निरन्तर सञ्चालनका लागि आफुहरु क्रियाशील रहने बताउनुभयो । विशेष गरेर दुई बाली धान भित्र्याउने सो क्षेत्रमा पानीकै समस्या रहँदै आएको थियो । अब भने मकै, गहुँलगायतका अन्य उत्पादनसमेत वृद्धि हुने बताइएको छ ।

रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष रु चार करोड बढी रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । सङ्घीय सरकारको रु दुई करोड आठ लाख र गाउँपालिकाको रु दुई करोड आठ लाख गरी रुद्रपुरगढी पर्यटकीय विकास कार्यक्रमका लागि रु चार करोड १६ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यसअघि नै योजना अगाडि बढाएको थियो । सानो रकमले योजना पूरा गर्नसक्ने अवस्था नरहेकाले गाउँपालिकाले सङ्घीय सरकारसँग रकम माग गरेर यस वर्षदेखि कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

रुद्रपुरगढीमा सेनकालीन राजाको दरबारका भग्नावशेष सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो, सेनाले परेड खेल्ने टुँडिखेल, सुरुङलगायत छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकाससँगै प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर कार्यअघि बढाइने उहाँको भनाइ छ ।

यस्तै रुद्रपुरगढीमै प्रदेशस्तरीय हिल स्टेशनसमेत निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न हिल स्टेशन निर्माणको योजना अगाडि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । हिल स्टेशनमा आर्कषक बगैँचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट, खेलका पूर्वाधारलगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर ) तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले रु ४७ करोडे बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो । रुद्रपुरगढी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो ।

गाउँपालिकाले प्रत्यक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो । रुद्रपुरगढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचना निर्माण, लालीगुराँस संरक्षित क्षेत्रलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

“रुद्रपुरसहितका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम गरिरहेका छौं, यसले पर्यटनमा आश्रित व्यवसाय बढदै जाने र यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमासमेत सहयोग पुग्ने विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो ।

त्रिभुवनराजपथ अवरुद्ध
सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।

पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..