ग्राहकसँगै पर्यटक लोभ्याउँदै कालिज फार्म

इलामको दक्षिणी गाउँपालिका रोङका किटेनीमा सञ्चालित प्रदेश नं १ कै पहिलो कालिज (जङ्गली कुखुरा) फार्मले आम्दानीसँगै पर्यटक आकर्षित गर्न थालेको छ ।

रोङ गाउँपालिका–४ किटेनीमा मेची राजमार्गसँगै जोडिएको सात रोपनी जग्गामा नेपाल प्रहरीका भूतपूर्व सहायक निरीक्षक नन्द गुरुङले दुई वर्षअघि पोखराका साथीसँग मिलेर रु एक करोड लगानीमा इस्टर्न वाइल्ड फुड प्रालि नामक कम्पनीमार्फत कालिज फार्म सुरुआत गर्नुभएको हो ।

मासुका पारखीले जङ्गली कुखुराको प्रजाति भएको हुँदा कालिज अति रुचाउँछन् । साना रेस्टुरेन्टदेखि ठूला तारे होटलसम्म र व्यक्तिका घरदेखि भोजभतेरको भान्सासम्म कालिज पाक्ने गरेको छ । स्वाद र पौष्टिकताले भरिपूर्ण हुने भएकोले बिरामी र सुत्केरीलाई तागत बढाउनसमेत कालिजको मासुको झोल खुवाउने चलन छ ।

अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन । उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेराबेरा मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाउनुपर्ने हुन्छ ।
गुरुङले फार्म सञ्चालनका लागि आफ्नो पुख्र्यौली १३ रोपनी जग्गामध्ये सात रोपनी कम्पनीलाई दिनुभएको छ । उहाँका अनुसार यस प्रालिमा नेपालमा पहिलो पटकट कालिज फार्म खोल्ने पोखराका युवा व्यवसायी पदम अधिकारीको लगानी छ ।

फार्ममा अहिले हुर्किएका तीन हजार ५०० वटा बिक्रीयोग्य कालिज ग्राहकको प्रतीक्षामा छन् । “हामीकहाँ प्रशस्त कालिज हुर्किरहेका छन्, बेचिरहेका छौं,” उहाँले भन्नुभयो,“मासुका लागि मात्र नभएर पाल्न चाहनेका लागि चल्ला पनि हामीसँग प्रशस्त छ ।”

बजारलाई लक्षित गरी कालिज फार्म सञ्चालन गरिएकोमा कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले होटल तथा रेस्टुराँ खोल्न नसक्ने अवस्था र पर्यटक चहलपहल ठप्प हुँदा व्यवसाय विस्तारमा असर परेको उहाँले बताउनुभयो ।

इलामको श्रीअन्तु, कन्याम जस्ता पर्यटकीयस्थल नजिक भएका कारण फार्मबाटै कालिज बिक्री भइरहेको जनाउँदै उहाँले झापाको बजार र होटलहरुमासमेत लैजाने गरेको बताउनुभयो । लोकल र ब्रोइलर कुखुराको तुलनामा कालिज निकै महँगो पर्दछ । एउटा वयस्क कालिज एक किलो ५०० ग्राम तौलको हुनेगर्छ ।

फार्ममै किन्न आउनेहरुले प्रति किलो रु तीन हजार ५०० सम्म दाम हालेर कालिज किन्ने गरेको उहाँको भनाइ छ । कालिजको पोथीभन्दा भाले सुन्दर देखिन्छ । लामो पुच्छर र रङ्गीन प्वाख भएकाले पर्यटक फार्ममा पुगेर घण्टौंँसम्म कालिज हेरेर रमाउने गरेका छन् । कर्मचारीले जुत्ता चप्पल र गोडाभन्दा मुनिको भागमा निशङ्क्रमण गरेर मात्र पर्यटकलाई फार्ममा प्रवेश दिने गरेका छन् ।

“गुरुङजीले ठूलो लगानीमा नयाँ खाले व्यवसाय सुरु गर्नुभएको रहेछ, कालिजलाई नजिकै गएर हेर्दा आनन्द लाग्यो,” फार्म हेर्न जानुभएको मेचीनगर–९ का ईश्वर भण्डारीले भन्नुभयो,“प्रदेशकै पहिलो कालिज फार्म भएको र यसबाट पर्यटकीय प्रवद्र्धनमा समेत सघाउ पुग्ने भएको हुँदा सरकारी निकायको प्रोत्साहनयुक्त दृष्टि यहाँ पुग्नुपर्छ ।”
नेपालमा पहिलो पटक नयाँ व्यवसाय गर्दा गाह्रो हुने र सरकारी निकाय तथा वित्तीय संस्थाबाट पनि लगानीमा आनाकानी हुने गरेको धारणा व्यक्त गर्दै कालिज पालनले कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । सडकबाट नजिक भएकोले फार्ममा गएर कालिज हेर्न दिनहुँ आन्तरिक पर्यटक जाने गरेका छन् ।

प्रहरीको जागिरबाट पेन्सन पकाइसकेपछि खाली बस्नुभन्दा कृषि र पर्यटन क्षेत्रको व्यावसायिक विकासमा लाग्ने अन्तरमनको चाहनाले भूपू प्रहरी निरीक्षक गुरुङ कालिज फार्ममा लाग्नुभएको हो । पहिलोपल्ट आफुले कालिज पालेको देखेर अरुले पनि पाल्ने चाहना गरुन् भनेर ह्याचरीमासमेत लगानी गरेको उहाँले बताउनुभयो ।

हाल फार्मभित्रै एउटा सुविधासम्पन्न भवनमा कालिजको चल्ला कोरल्ने ह्याचरी उपकरण राखिएका छन् । विद्युत् प्रवाह अवरुद्ध नहोस् भनेर ठूलो जेनेरेटर मेसिन राखिएको छ । त्यहाँ साना चल्ला हुर्किरहेका छन् ।

आफूले पोखराबाट पहिलो पटकप्रति गोटा रु तीन हजार मूल्यमा कालिजको चल्ला किनेको गुरुङले सुनाउनुभयो । अहिले उहाँले स्थानीय खरिदकर्तालाई रु ७५० देखि रु एक हजारसम्ममा चल्ला बिक्री गर्दै आउनुभएको छ ।
कोरोना महामारी मत्थर भएपछि पर्यटकीयस्थलमा चलहपहल बढ्ने र त्यसबेला कालिजको बजार ह्यात्तै बढ्ने सञ्चालकको अपेक्षा छ । “साथीभाइ र जानकारले हौसला बढाइरहनुभएको छ,” सञ्चालक गुरुङले भावी योजना सुनाउँदै भन्नुभयो,“यहीँ ठाउँमा एउटा राम्रो रिसोर्ट चलाउने सोचाइमा छु ।” कालिजसँगै बोयर खसी र कडकनाथ कुखुरा पाल्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

झापाको चारआलीस्थित महेन्द्र राजमार्गबाट १८ किलोमिटर उत्तर मेची राजमार्गमै रहेको सो स्थानमा गर्मीमा चिसो र जाडोमा न्यानो मौसम हुने भएकोले रिसोर्ट चल्ने उहाँको धारणा छ ।

खाँडाचक्रका विद्यालय सञ्चालनमा
खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागार्इंले जानकारी दिनुभयो ।

समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”

यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारीदिनुभयो ।

“जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,” उहाँले भन्नुभयो,“त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।”

विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ ।
“विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,”उहाँले भन्नुभयो,“विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।”

सडक निर्माण ढिलाइ ः डुवानको जोखिम वढ्यो
सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा प¥यो । सो कम्पनी मात्रै नभइ करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो ।

गत वर्षका डुवानमा व्यापारीको क्षति भएको स्मरण गर्दै ब्यापारी सरोज चपाईंले ढल निकासको समस्याका कारण डुवान भएको आरोप लगाउनुभयो ।

“स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । व्यापारी बर्सेनि डुवानको समस्यामा छन् ।” उहाँ भन्नुभयो, “ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामीले समस्या भोग्नुपरेको छ ।”

बजारको मुख्य भागमा निर्माण सुरुआत भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमापर्ने खतरा बढेको छ । एक दिनको वर्षाले मात्रै टीकापुरका दर्जनौं पसल डुवानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय व्यापारी सुरेन्द्र चौधरी बताउनुहुन्छ ।

“नाली निर्माण भएका छन् । तिनको निकास छैन् । अहिले तिनै नालीमा पानी भरिएर पसल जलमग्न भएका छन् ।” उहाँले भन्नुभयो, “पूर्व तयारी कसैले गर्दैनन् । जब समस्या आउँछ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुँदैन ।”

बजारको मुख्य भाग ब्लक नं.‘ए’ मा स्मार्ट सिटी अन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भइसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एमके जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् ।

जेभीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाइ भएको बताउनुभयो । उहाँले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताउनुभयो ।

बजारको मुख्य बजारसँगै जोडिएको जमरा पुलदेखि बसपार्कसम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भइसकेको छ । विद्युत् पोलको समस्या देखाउँदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुवानको जोखिम बढेको स्थानीय व्यापारी हेमन्त रावल बताउनुहुन्छ ।

सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडककोबीच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ । निर्माण सेवाका इन्जिनीयर गगन शाहीले विद्युत् पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको जनाउँदै बिचको भाग भए पनि कालोपत्र गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताउनुभयो ।

“हामीले पनि समयमै काम सम्पन्न गर्छौ भनेर काम सुरु गरेका थियौं । तर बिचमा आएका समस्याले काम समयमै सम्पन्न गर्न सकिएन ।” उहाँले भन्नुभयो, “हामी त काम गर्न तयारै छांै तर काम गर्ने वातावरण बनिरहेको छैन् ।”
अलपत्र प-यो शीतभण्डार निर्माण
सप्तरीको राजविराज नगरपालिकस्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण अलपत्र परेको छ । राजविराज –१२ देउरी भरुवामा निर्माणाधीन सो शीतभण्डारको क्षमता तीन हजार मेट्रिक टनको छ । ठेकेदारको चरम लापरवाहीले निर्माणकार्य अहिले रोकिएको छ । ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर विगत ६ महिनादेखि काम स्थागित गरेको बताइएको छ ।

जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापननमा सहयोग पु¥याउने ध्येयले सो कार्य अगाडि बढाएको थियो ।
विसं २०७५ फागुन महिनामा शिलान्यास गरी निर्माण थालिएको शीत भण्डारको काम ५० प्रतिशत भएको छैन । स्थानीयवासीका अनुसार शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको थियो ।

सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौं किसानले लाभ लिन सक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल भइराखेको बताउनुभयो । उहाँका अनुसार यसका लागि पहिलो किस्ता रु तीन करोड बजेट निकासा भएको थियो । अहिले बजेटका अभावमा काम रोकिएको बताइएको छ ।

सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन् । सङ्घीय सरकारको ६० ,सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने सो शीतभण्डारको क्षमता ३ हजार मेट्रिक टन रहने जनाइएको छ । पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाइ ४८ मी, चौडाई ४०.८५ मी उचाइ ९.५ मी रहने प्राविधिकले जनाएका छन् । कूल ६४ हजार ९८२.६८ वर्गमी जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार मूल्य अभिवृद्धि कर बाहेक रु २७ करोड लाग्ने जनाइएको छ ।

अवरुद्ध लोकमार्ग खुल्यो
वर्षासँगै आएको बाढीपहिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् । दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।

कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । बोक्सेमा खसेको पहिराले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..