annapurna add

department of immigration nepalभिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।

विभागले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “हाल विभिन्न सञ्चारमाध्यममा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावका रूपमा आएको विषय हो, सो विषयमा हालसम्म कुनै निर्णय भएको छैन, सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारण र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुनेछ ।”

रु १५ लाखको बीमा अनिवार्य

विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि विभागले बीमा अनिवार्य रहने गरी अध्यागमन कार्यविधि संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

जुनसुकै देशमा जाने जो कोही नेपालीले रु १५ लाख बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविध संशोधन गर्न केही दिनअघिमात्र मन्त्रालयमा सिफारिस गरिएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिनुभयो ।

विभागले पठाएको प्रस्तावका आधारमा गृहमन्त्री रामबहादुर थापाले (मन्त्रीस्तरीय निर्णयबाट) उक्त प्रस्ताव स्वीकृति गरेपछि कार्यान्वयनमा आउनेछ ।

पत्रकार बानियाँलाई मिडिया सोसाइटी अवार्ड
म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उहाँलाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’, ‘उज्यालो ९० नेटवर्क’, ‘धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । रु दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा १० वर्षदेखि काम गरेका एक संस्थाका सदस्य सञ्चारकर्मीलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य र अमित विश्वकर्मा सम्मानित भइसक्नुभएको छ ।

साधारणसभामा नागरिक समाजका संयोजकसमेत रहनुभएका ज्येष्ठ सदस्य श्रेष्ठले सङ्कटमा परेका जिल्लाका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन तथा पत्रकारिताको विकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले सचिव विश्वकर्माको प्रगति र कोषाध्यक्ष आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ ।

कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै
कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो ।

दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माणकार्यले तीव्रता पाउन सकेको थिएन । एक दशकपछि अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालिले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताउनुभयो । “नक्शा पाइसकेपछि विसं २०७४ देखि निर्माण शुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो ।”

पुलको लागत रु १६ करोड बढी रहेको र कोरोना भाइरसका कारणले देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि मैनालीले बताउनुभयो । “देशमा लकडाउन नभएको भए गत आर्थिक वर्षमै निर्माण गरिसक्ने योजना रहेको थियो”, उहाँले भन्नुभयो, “अब यस आवको असार समान्तसम्ममा निर्माण पूरा हुन्छ ।”

अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले पुलको निरीक्षण गर्नुभएको हो ।

उहाँले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न लागिएको सडकको समेत जानकारी लिनुभयो । सडक निर्माणका लागि डिजाइन बनिसकेकाले छिट्टै काम शुरु गरिने सडक डिभिजन भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पुलमा भत्किएको क्षेत्रका तत्काल मर्मत गर्न आग्रह गर्नुभयो । विसं २०७१ मा सो पुल निर्माण सम्पन्न भएको थियो । यस्तै अध्यक्ष तिमिल्सिनाले दासढुङ्गाको तनहुँ क्षेत्रमा निर्माण भइरहेको मदन–आश्रित बहुआयामिक स्मृति उद्यानको समेत अवलोकन गर्नुभयो ।

उहाँले दासढुङ्गाको विकासका लागि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयस्तरबाट विशेष पहल लिनुपर्ने बताउनुभयो । उद्यान निर्माणमा भइरहेको प्रगतिबारे निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराउनुभएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...