तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

तीस÷तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ वटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताउनुभयो ।

वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदानमा निर्माण भएको हो । सो सडकअन्तर्गत पहिलो प्याकेजमा वीरगञ्जदेखि चमरी टोलसम्म ३० किलोमिटर र दोस्रो प्याकेजमा चमरी टोलदेखि ठोरीसम्म ३० किलोमिटर गरी जम्मा ६० किलोमिटर लम्बाइ रहेको छ । विवादको कारण अहिले सो सडकमा ठोरी चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ सम्म जम्मा २७ किलोमिटर भागमा कालोपत्रे गरिएको छ भने तीन किलोमिटर सडकखण्डको मध्य भागमा २३ वटा सालको पुरानो रुख रहेको र सो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो सडकखण्डमा पिच हुन नसकेको सो कार्यालयका प्रतिनिधि रामनाथ चौधरीले बताउनुभयो ।

“ठोरी गाउँपालिका वडा नं १ र २ मा रहेको रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकमा पिच हुन नसकेको हो”, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले राससलाई भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मणिनाथ बरालसँग सम्पर्क गर्दा उहाँले बीच सडकमा परेको रुख काट्ने निर्णय निकुञ्जले गर्न नसक्ने बताउनुभयो । त्यसको लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको उहाँले बताउनुभयो । बीच सडकमा रहेको रुख हटाउन नसकिदा त्यस क्षेत्रमा सवारी आवागमनमा कठिनाइ भई दुर्घटनासमेत निम्त्याउने ठोरीवासीको भनाइ छ ।

तीन किलोमिटर सडकमा कालोपत्रे नगरिकनै सो सडक भारतीय कन्सलटेन्सीले हुलाकी राजमार्गलाई हस्तान्तरण गरेपछि त्यसको विरोध हुन् थालेको छ । भारतीय कन्सलटेन्सीका इञ्जिनीयर नुर आलमले हतारमा सो अधुरो सडक हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीलाई हस्तान्तरण गरी संयुक्तरुपमा उद्घाटनसमेत गरिसकिएको छ । चमरी टोलदेखि ठोरीसम्मको सडक निर्माण गर्ने ठेक्का कालिका बानियाँ जेभी कम्पनीले पाएको हो । सो अधुरो सडक हस्तान्तरण भएको विरोधमा ठोरीका बासिन्दा आन्दोलनमा उत्रेर निकुञ्ज मातहतको कार्यालयमा तालाबन्दी गरेका छन् । जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत निर्मलबस्ती ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेलले राससलाई बताउनुभयो ।

ठोरीदेखि चितवनको माडीसम्म १४ किलोमिटर हुलाकी सडकमा अहिले ग्राभेल गरिएको छ । सो खण्डमा दैनिकजसो ठूला तथा सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । कालोपत्रे भएको हुलाकी सडकको छेउछाउको जग्गाको मूल्य अहिले आकासिएको छ । विगत आठ वर्षअघिसम्म मानिसलाई वीरगञ्जबाट ठोरी जान करिब चार घण्टा जति लाग्ने गथ्र्यो भने अहिले हुलाकी सडक बनेपछि एक घण्टामै ठोरी पुग्ने गरेको स्थानीय विजय पण्डितको भनाइ छ । ठोरीदेखि चितवनको माडीसम्म ग्राभेल सडकमा यातायातका सवारी साधन चल्न थालेपछि मानिसलाई ठोरी माडीसम्म आवतजावत गर्न सजिलो भएको छ ।

क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो ।

केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठक राति ८ बजे मात्र बसेको थियो । बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य पदाधिकारीबीच अनौपचारिक रुपमा झण्डै छ घण्टा पार्टी कार्यालयमै छलफल भएको थियो । रासससँग कुरा गर्दै पार्टी प्रवक्ता शर्माले प्रतिनिधिसभाको पुनःस्थापनापछि पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रसस्त नगरेपछि कांग्रेस राजीनामा माग्ने निर्णयमा पुगेको बताउनुभयो ।

बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने
नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।

बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार चालु आवको लागि कम्तीमा ३० स्वयंसेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेकाले कार्यपालिका बैठकबाट निर्णय गराई भर्ना प्रक्रिया अघि बढाउन लागिएको हो । नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था मिलाउन रु ६२ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानूनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

“नियुक्त गर्न लागिएका शिक्षकको लागि प्राविलाई रु १५ हजार, निमाविलाई रु २० हजार र मावि तहको लागि रु २५ हजार तलब दिइनेछ”, उहाँले भन्नुभयो, “नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउने छन् ।” अहिले नियुक्त भएका शिक्षकको लागि यो आवमा बजेट सुनिश्चित भइसकेको छ भने नियमितरुपमा नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न थप बजेट नगरपरिषद्मार्फत गरिने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।

नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावी (आधारभूत विद्यालय) ३४ गरेर कूल ५३ सामुदायिक विद्यालय छन् । भूकम्पको समयमा प्रभावित भएका सामुदायिक विद्यालयको अध्ययन सुधारका लागि अधिकांश विद्यालयमा पुनःनिर्माणअन्तर्गत सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको छ भने बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, अङ्ग्रेजी माध्यमबाट अध्यापन, भर्चुअल कक्षा, विद्यालयमा नर्समार्फत विद्यार्थीलाई स्वास्थ्य शिक्षा र हेरचाह, विद्यालयको लागि यातायातको सुविधालगायतको व्यवस्था नगरपालिकाले मिलाइ कोरोनाले प्रभावित भएको शैक्षिक गतिविधिलाई पुरानै लयमा फर्काउन सफल हुँदै गएको छ ।

घरवासमा चहलपल बढ्दै
कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महिनायता बिदाका दिनमा पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै तीन दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अधिकांश घरवास सेवा विस्तारै शुरु हुन थालेको अतिथि सत्कार सामुदायिक घरवास बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरवास पहिलेका जस्तो भरिभराउ भने हुन् सकेका छैनन् तर कोरोना महामारीको समयमा ठप्प रहेका घरवासमा विस्तारै चहलपहल देखिन थालेको हो । काठेखोला गाउँपालिका–७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरवासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरवास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घ्ुम्नका लागि त्यहाँ पुग्नेको सङ्ख्या धेरै छ ।

घरवासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको डोटा देउराली सामुदायिक घरवास रेशका सञ्चालक प्रेमबहादुर थापाले बताउनुभयो । “स्थानीय कुखुरा र कोदोको ढिँडो खोज्दै बजारदेखि गाउँ आउने धेरै छन्”, थापाले भन्नुभयो, “एक वर्ष हात पट्याएर बसियो, अहिले विस्तारै मान्छे आउन थालेका छन् ।”

कामको सिलसिलामा गाउँमा पुग्नेका लागिसमेत गतिलो आवास बन्ने गरेका छन् यहाँका घरवास । विभिन्न योजना र परियोजनाका काम लिएर गाउँ पुग्ने घरवासमा बसेर रमाउने गरेको थापाले बताउनुभयो । बागलुङका गाउँमा रहेका होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि केही गाउँका घरवास सेवामूलक हिसाबले नै सञ्चालनमा रहेका छन् ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभँेडाबाट बनाएको चटनी, स्थानीयरुपमा उत्पादन भएका मकैलगायतका स्थानीय खानाले धेरैलाई लोभ्याउँछ । “कोरोना महामारीको दोस्रो लहरको त्रास छ, तै पनि गाउँघरमा चहलपहल विस्तारै बढ्दै छ”, रेश सामुदायिक घरवासका सञ्चालिका उजेली शर्माले भन्नुभयो, “पाहुना आएपछि काम बढ्छ, काम बढ्दा आम्दानी नहुने कुरै भएन ।” रेशका अधिकांश घरमा स्थानीय जातका कुखुरा पालिएको र नजिकैको जङ्गलमा पाइने बाँकोबाट गुन्द्रुक बनाएर राखिएको छ । कोरोना महामारीपछि विस्तारै बढेको चहलपहलले घरवास सञ्चालकमा उत्साह छाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..