जिल्ला नेतृत्व घोषणा कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औ बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताएका हुन्।

विगतमा नेपाल कम्युनिष्ट पार्टी भित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै उनले अहिले नेपाली काग्रेस त्यही बाटोमा गएको टिप्पणी गरे। उनले प्रगतिशिल शक्तिका विरुद्ध प्रतिगामी शक्तिसंग साँठगाठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा देखिएको टिप्पणी गरे।

नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिसंग एकता गर्नुपर्नेमा प्रतिगामी शक्तिसंग एकता गरेको उहाँको तर्क थियो । उनले भने, ‘आज अचम्म लाग्छ। कांग्रेस कहाँ पुग्यो। कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लाग्छ। कुनै पनि लोकतन्त्र वादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भईदेउ भनेर दरखास्त हाल्दैन।’

उनले भ्रष्टाचार नियन्त्रणमा कुनै पनि मोलाहिजा नहुने दोहोर्याए। बर्तमान सरकारले सुन तस्करीको सबै बाटाहरु बन्द गराएको दाबी पनि उनले गरे। उनले भने, ‘सुन तस्करीको प्वाल बन्द गरिदिएका छौ। खै सुन? त्यसबेलाकाले थाहा पाउन पर्यो नि कहा पुर्यायो भनेर? अहिलेकालाई खै सुन? आत्तिएका छन् कारोबारीहरु। कारोबारीको पृष्ठभूमिका बसेकाहरु आत्तिएका छन्। अब सूनको तस्करी चल्दैन। जिल्ला जिल्लामा जमिन मुनि गाडेको पनि खोजलेर निकालिएको छ। त्यो देख्नुपर्यो नि।’

लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंम्स मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याईएको भन्दै उहाँले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुसीको कुरा भएको बताए। उनले मुलुकबाट पृथकतावादी विचार समाप्त भएसंगै प्रतिगामी तत्वहरुमा छटपटी भएको बताए। उनले भने, ‘तास खेल्दा खेल्दै पत्ती नै हरायो अब केमा खेल्ने?’

अपेक्षा गरे भन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको दाबी पनि उनले गरे। उनले यसबर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको, ४० वटा तुईन विस्थापित भएको तथा ८ सय किलोमिटर कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताए।

उनले सामान्य विषयलाई अनावश्यक उचालेर पार्टी फुट्छ भनी भ्रम फैलाउने काम भएकोमा आपत्ती जनाए। भवितव्यले एकता नभएको भन्दै उनले वर्षसंगै अभियान र अभिभाराको पाटो पनि पल्टिने र नयाँ अठोठका साथ पार्टी अघि बढ्ने स्पष्ट पारे।

उनले सरकारले आगामी वर्ष वृद्ध भत्ता बढाउने बताए। सरकारको मुख्य उद्देश्य शान्ति सुव्यवस्था कायम गर्दे लोकतन्त्रको सही अभ्यासका साथ विकास निर्माणका काम अघि बढाउने रहेको भन्दै उनले प्रदेश सरकारलाई पनि संघीय सरकारले जस्तै काम गर्ने प्रेरणा दिदै सोही अनुसार काम अघि बढाईने स्पष्ट पारे।

उनले नेपालको कम्युनिष्ट आन्दोलनले आफ्ना संगठित अभियानका गौरवपुर्ण र सफलताका ७० बर्ष पुरा गरेको उल्लेख गरे। एकताको टुंगो लगाएसंगै लामो समय देखिको नेपालीको आकांक्षा पुरा भएको भन्दै उनले यसबाट जनताको जीत भएको बताए।

उनले विगतमा कम्युनिष्ट नेताका विचारलाई लखेट्ने र विचारको नभई स्वार्थको राजनीति हुने गरेको र त्यसले मुलुकको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम भएको चर्चा गर्दै अब भने त्यसो नहुने दाबी गरे।

एकतासंगै पार्टी सामाजिक न्याय सहितको सम्मृद्धि र लोकतन्त्र स्थापनाको गहन सुझबुज र प्रतिवद्धताका साथ अघि बढेको स्पष्ट पारे।

एकीकरणको प्रक्रिया अघि बढेको भन्दै बाँकी विषयलाई केही दिनमा नै टुंगो लगाईने बताए। पार्टी नेतृत्व एकढिक्का भएर सबै कामको नेतृत्व गर्न सक्षम छ भन्ने व्यवहारले देखाएको बताए।

उनले एकतामा पुर्याएको सहयोगका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अनि एकताको दबाब दिने, आकांक्षा राख्ने सबैलाई धन्यवाद दिए।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जिल्ला नेतृत्व चयनसंगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७० औ बार्षिकोत्सवका अवसरमा सोमबार काठमाण्डौको प्रज्ञाभवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले ७७ वटै जिल्लाको नेतृत्व चयनसंगै फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताएका हुन्।

एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भएपनि अन्तत सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको बताए। लामो समय सम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभुति पनि विगतमा भएको भन्दै उनले अन्तत पार्टी एकताको प्रक्रिया टुंगो लागेको बताए।

उनले जिल्ला नेतृत्व चयनसंगै अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकि १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने उद्घोष गरे। महाधिवेशन महाबहसको एउटा भट्टी भित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै उनले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने आवश्यकता औल्याए।

उनले भने, ‘फोहर मैला हामी भित्र पनि जम्मा भएको छ। यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन।’

दुईवटा प्रयोगबाट एउटा नया निष्कर्षका साथ अघि बढ्ने काम भएको भन्दै उनले राष्ट्र र जनता तथा सिंगो कम्युनिष्ट आन्दोलनको हितमा कदम चाल्नुपर्ने आवश्यकताका साथ कम्युनिष्ट एकतामा जुटेको उल्लेख गरे। सानो विवेक र संकल्पले पार्टी एकता नभएको भन्दै उनले आफुहरुले जनतासंग गरेको प्रतिवद्धताबाट विच्चलित नभईकन पार्टी एकता गरी क्रान्तिको नया कोशेढुङ्गा स्थापित गरेको स्पष्ट पारे।

उनले एकता प्रक्रियामा भएको पछिल्लो निर्णय प्रतिक्रियावादीहरुको लागि अर्को प्रतिवाद भएको बताए। उनले नयाँ साँस्कृतिक आन्दोलन सहित भ्रष्टाचार, ढिलासुस्ती बेइमानी र जालझेलका विरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिए।

उनले नेपालको नया परिस्थितिप्रति विश्वभरबाट गहिरो अध्ययन भईरहेको भएपनि मुलुकभित्रैबाट भने प्रतिगामी तत्वहरुले कम्युनिष्ट एकताको आक्रामक स्थितिलाई कमजोर पार्ने गरि षडयन्त्र बुन्ने काम भईरहेको दाबी गरे।

उनले राष्ट्रिय एकतालाई मजबुत बनाउदै सामाजिक न्यायसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभिभारा पार्टीमा रहेको भन्दै सो अभिभारा पुरा गर्न तत्पर रहने बताए। जनयुद्ध, जनआन्दोलनलाई एकअर्काको पुरक बनाउदै शान्ति सम्झौता सम्म लैजाने र युगान्तकारी राजनीतिक परिर्वतन गराउने महाअभियानमा आफुहरु सफल भएको भन्दै उनले संविधानसभाबाट संविधान निर्माण सम्मका सबै फेयरिस्तलाई प्रस्तुत गरे।

कार्यक्रममा दुवै अध्यक्षद्धारा स्थापना दिवसको अवसरमा संयुक्त रुपमा दिएको शुभकामनाको श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..