
काठमाडौ। हिन्दु राष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता हुँदैछ । दिउँसो १ बजे सिंहदरवारमा वार्ता सुरु हनेछ ।
सरकारले गएको आइतवार वार्ताका लागि आहृवान गरेपछि राप्रपाले हिजो वार्ता टोली गठन गरेको थियो । सरकारसँगको वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा ३ सदस्यीय टोली जान लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहनु भएको छ । हिन्दू राष्ट्रको पुनः स्थापना, राजसंस्था बारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायत २२ बुँदे मागसहित आफूहरू वार्तामा बस्न लागेको श्रेष्ठले बताउनुभयो ।
सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले वार्ताको संयोजन गर्नुहुनेछ । गत आइतबार मन्त्री ढकालले पत्र लेखी वार्तामा आउन राप्रपालाई आग्रह गर्नुभएको थियो ।