‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी

बेइजिङ। राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन्। अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको शुक्रबार यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताएकी हुन्।

उनले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट गरिन्। “अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने होे”, उनले भनिन्।
नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालकोे विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा उनले व्यक्त गरिन्।

उनले बिएण्डआर सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण ढाँचा भएको र आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म भएको उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति तथा समृद्ध सभ्यतायुक्त एशियाले समृद्ध विश्वको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा व्यक्त गरिन्।

उनले चिनियाँ राष्ट्रपति सी चीन फिङको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै भनिन्, “यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ। यसले एकाकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्छ। विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।”

उनले बिआरआइ विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि एक संयन्त्र भएको र बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्ने भएकाले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि यस संयन्त्रबाट सिर्जना हुने कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण भएको बताइन्।

उनले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्च सक्षम हुने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले आफूले बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको बताउँदै कार्यक्रममा सहभागिता तथा तथा न्यानो आतिथ्यका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद ज्ञापनका साथ जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई व्यक्त गरिन्। बैठकमा कम्बोडिया, सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड, ग्रीस, इथियोपिया र म्यान्माका नेताहरुले पनि बोलेका थिए।

सम्वोधनको पूर्णपाठ

महिला तथा सज्जनवृन्द,
मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु।

यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु। साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ। स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ। र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन्। अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ। आपसी सहयोग नभएको भए यी उपलब्धिहरु सम्भव हुने थिएनन्। आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन।

यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन्। सम्पत्तिको असमान वितरण व्याप्त छ। धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन्। करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन्। संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन्।

त्यस प्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ। विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ।

तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ। सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ। उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ।

एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो। समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ। धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ।

बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ। यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो। आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो। यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ। यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ।

विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ। साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ। बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ।

नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ।

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ। हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो। हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ। अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो। हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं।

हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं।

अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहान्छु।

धन्यवाद।

सुरेन्द्रबहादुर नेपाली

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..