
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा निर्माण भएको स्वास्थ्य चौकी एक वर्षदेखि प्रयोग विहीन रहेको छ ।
रानीशिखरमा पौने तीन करोड लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन ठेकेदारले कामदारहरुको पारिश्रमिक भुक्तानी नगरेकाले स्थानीयहरुले ठेकेदारले पारिश्रमिक भुक्तानी नगर्दा सम्म प्रयोग गर्न नदिने अडान राखेपछि भवन प्रयोग विहीन भएको हो ।
स्वास्थ्य चौकीको भवन निर्माण गरेको एक वर्षसम्म पनि स्वास्थ्य चौकीले पुरानै जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ । ठेकेदारले भवन निर्माणका क्रममा कामदारहरुको करिब ६ लाख पारिश्रमिक भुक्तानी नगरेको कामदारहरुको भनाई छ ।
ठेकेदारले कामदारको पैशा नदिएसम्म नयाँ भवन प्रयोग गर्न नदिने उनीहरुको अडान छ । पुरानो भवन जीर्ण भन्दै गएको र प्रर्याप्त भौतिक संरचना नहुदाँ स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको स्वास्थ्य चौकी रानीशिखरले जनाएको छ ।
स्वास्थ्य चौकीमा जनशक्ति आवश्यकता अनुसार उपलब्ध भएपनि हाल सञ्चालनमा रहेको स्वास्थ्य चौकी भवन जीर्ण र साँघुरो भएका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको स्वास्थ्य चौकी प्रशासनको भनाई छ ।