आँधीपछि मोजाम्बिकमा सात लाख मानिस उच्च जोखिममा

केनेथ नाम दिइएको शक्तिशाली समुद्री आँधीले तहसनहस पारेको उत्तरी मोजाम्बिकको अवस्था सोचेभन्दा खराब भएको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन्।

बिहीवार मोजाम्बिकका थुप्रै गाउँहरू तहसनहस बनाइदिएको त्यो आँधीको वेग २२० किलोमिटर प्रतिघण्टा थियो। आँधीपछि पनि त्यहाँ वर्षा हुने क्रम जारी रहेको र त्यहाँका झन्डै सात लाख मानिसहरू उच्च जोखिममा रहेको बताइएको छ।

त्यहाँको सबैभन्दा बढी प्रभावित काबो देल्गाडो राज्यको पेम्बा नगरमा दुई मिटर वर्षा भएको थियो। लगत्तै त्यहाँ ठूलो बाढी आएको थियो।राष्ट्रसङ्घीय मानवीय मामिला संयोजन कार्यालयका प्रवक्ता साभियानो अब्रियुका अनुसार माल्कोमिया र किसान्गा नगरको अवस्था निकै नाजुक रहेको छ।

सम्पर्कविच्छेद हुन पुगेको टापु इबोको अवस्थाबारे पनि चिन्ताहरू व्यक्त भइरहेका छन्। त्यस क्षेत्रमा चार मिटरसम्म अग्ला छालहरू आउने अनुमान गरिएको छ। सहायता संस्थाहरूले अझै वर्षा भयो भने स्थिति झन् बिग्रिने बताएका छन्।

विश्व खाद्य कार्यक्रमकी प्रवक्ता डेबोरा न्गुएनले भनिन्, “आउने चार दिनसम्म पानी पर्ने पूर्वानुमान छ। त्यसैकारण हामी एकदमै धेरै चिन्तित छौँ।”

“इडाई (नाम गरेको) आँधीको बेला परेकोभन्दा दुई गुणा बढी पानी पर्ने अपेक्षा हामीले गरेका छौँ।”

गएको मार्चमा इडाई आँधीका कारण त्यस क्षेत्रका तीन देशमा नौ सय जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। पेम्बामा झन्डै चार लाख मानिसको बसोबास रहेको अनुमान छ। अविरल वर्षाका कारण धेरैको ज्यान जोखिममा परेको छ।

पेम्बाको महाते क्षेत्रमा पहिरो जाने भय पनि बढेको त्यस क्षेत्रमा खटिएका ओचाका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार नतिते भन्ने स्थानमा पहिरोका कारण घर भत्किने क्रम सुरु भइसकेको छ।

विश्व खाद्य कार्यक्रमले प्रभावित व्यक्तिहरूलाई खानेकुरा वितरण गर्न थालिसकेका विवरण प्राप्त भएका छन्। तर सडक भत्किएकाले सहायता वितरण सहज हुन सकेको छैन।

आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान गइसकेको छ भने झन्डै ३५ हजार घरहरू पूरै वा आंशिक रूपमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..