यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

स्पेन, म्याड्रिड। नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ। आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो।

बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ। ‘यूरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताए। उनले भने–‘हामीसँग आधिकारिक तथ्यांक यकिन नभएपनि हरेक वर्ष यहाँ आउने नेपालीको संख्या बढिरहेको खवर नेपाली कम्युनिटीबाट बुझिरहेका छौ।’

स्टुडेन्ट भिषामा यूरोप पुग्ने नेपालीहरु रोजगार र बसोबासका लागि सहज वातावरण खोज्दै स्पेन भित्रिने गरेका उनको बुझाई छ। बेलायतमा एक दिन पनि ‘ओभर स्टे’ गर्न नपाइने भएकाले त्यहाँबाट पनि स्पेन भित्रिने नेपालीको संख्या बढिरहेको पौडेलले बताए। सोही प्रावधानका कारण सन् २०१०पछि बेलायतबाट स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको उनको ठहर छ। स्पेन भित्रिने जो कोहीले बसोबासका लागि ‘इम्पाद्रोनामिएन्तो’को प्रकृयामा सामेल हुन सक्छन्। इम्पाद्रोनामिएन्तो बसोबासका लागि स्थानीय नगरपालिकामा दिइने आवेदन प्रकृया हो।

आवेदकले निवेदन दिएको ३ वर्षपछि बसोबास अनुमतिपत्र प्राप्त हुन्छ । त्यसपछि रोजगारका लागि आवेदन दिन सजिलो हुने र कमाई धेरथोर बचत पनि हुने बताउँदै म्याड्रिडको एक रेष्टुरेन्टमा कार्यरत एक नेपालीले भने–‘शुरुको ३ वर्ष विना कमाईको दुःखी जिन्दगी हो, ३ वर्षपछि भने केही सजिलो हुन्छ।’

आप्रवासी नेपाली मञ्च स्पेनका अनुसार स्पेन आएकै दिनमा जो कोही इम्पाद्रोनामिएन्तोको प्रकृयामा जान सक्छन्। मञ्चका निवर्तमान अध्यक्ष शिवहरि सिग्देलका अनुसार इम्पाद्रोनामिएन्तोका लागि कुनै शुल्क नलाग्ने भएकाले स्पेन छिर्ने जो कोहीले आवेदन दिन सक्छन् । यस्तो अनुमति पत्र प्राप्तीका लागि स्थानीय नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान अनिवार्य छ तर सोही प्रावधान नेपाली दूतावासका लागि भने अनिवार्य छैन।

यही कारणले बसोबास अनुमति प्राप्त गरेका र अनुमति लिने प्रकृयामा रहेका नेपालीको संख्या यकिन हुन नसकेको कार्यवहाक राजदूत पौडेलले प्रष्ट्याए। ‘बसोबास अनुमति प्राप्त गरेका र र बसोबासका लागि आवेदन दिने नेपालीको संख्या अझै यकिन हुन सकेको छैन, हामी संख्या यकिन गर्न प्रयासरत छौ, नेपाली समुदायको साथ र सहयोग लिइरहेका छौ’–उनले भने।

नेपालीको चाप भएका स्पेनका प्रमुख गन्तव्यमा बार्सिलोना, म्याड्रिड, विलबाओ लगायत छन् । समग्र स्पेनमा नेपालीको चाप रहेको गन्तव्य भने बार्सिलोना रहेको दूतावासको ठहर छ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनका अनुसार समग्र स्पेनमा बैध–अवैध नेपालीको संख्या १५ हजारका हाराहारीमा छ भने बार्सिलोनामा मात्रै १० हजार भन्दा बढी नेपाली छन्। काठमाडौको जस्तै हावापानी र बाह्र्र्रैमास पर्यटकीय गतिविधी रहने भएकाले बार्सिलोना केन्द्रित हुने नेपालीको चाप बढिरहेको परिषद्का उपाध्यक्ष सुनिल रानाभाटले बताउँछन्।

‘हावापानी राम्रो छ, पर्यटकीय क्षेत्र भएकाले बार्सिलोनामा नेपालीले काम पाउन खासै गाह्रो छैन’– उनले भने। कानून उलंघन गरी सञ्चालनमा रहेका, नक्कली विद्यार्थी भर्ना गरेका आफ्ना मुलुकका विश्वविद्यालयलाई बेलायतले कार्वाही गर्न थालेपछि सन् २०१०पछि स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको उनको बुझाई छ। ‘२०१० पछि बेलायतबाट मात्रै १ हजार नेपाली यहाँ आएको हाम्रो अनुमान छ, रानाभाटले भने– ‘के कसरी नेपाली यहाँ भित्रिए, भित्रिरहेका छन् भनेर हामी विस्तृत विवरण र तथ्यांक संकलन गर्न जुटिरहेका छौ।’

म्याड्रिडसँगै जोडिएको पोर्चुगलमा पनि हरेक वर्ष नेपालीको संख्या बढ्दोक्रममा रहेको त्यहाँ बसोबासरत नेपाली बताउँछन् । बसोबासका लागि आवेदन दिएको एक वर्षभित्रै अनुमति पाइने भएकाले सो मुलुकमा नेपालीको चाप बढ्न थालेको उनीहरुको बुझाई छ । तर पोर्चुगलको तुलनामा तलब भत्ता स्पेनमा केही सन्तोषजनक रहेकाले नेपालीको आर्कषणको गतव्य भने स्पेन परिषद्को ठहर छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..