
दार्चुला । दार्चुलाको एकमात्रै संरक्षण क्षेत्र, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले बर्सेनि राजश्व सङ्कलनको दर बढाउँदै लगेको छ ।
विगत नौ वर्षको वार्षिक रुपमा संकलित राजश्वको तथ्यांक हेर्दा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको राजश्व बढेको देखिएको हो । सुरुको वर्ष २०६७÷०६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको कार्यालयमा गत वर्ष २०७४/०७५ सम्म आइपुग्दा २ करोड ४४ लाख १४ हजार ९७ रुपैयाँ राजश्व उठेको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र घोषणा भएदेखि हरेक वर्ष राजश्व बढिरहेको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सबैभन्दा धेरै राजश्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयमा संकलन भएको राजश्व नेपाल सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको छ ।
नेपाल सरकारले संकलित राजश्वको ३० देखि ५० प्रतिशत रकम संरक्षण क्षेत्रको विकासका लागि उपलब्ध गराउने कानुनी व्यवस्था रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताउनुभयो । अपिनाम्पा संरक्षण क्षेत्र स्थापना भएदेखि नौ वर्षको अवधिमा ९ करोड ८९ लाख ५८ हजार ३ सय ५८ रुपैयाँ राजश्व संकलन भएको छ ।