
काठमाडौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले देशलाई फेरी द्धन्द्धमा लैजान खोज्नेहरुबाट सरकार सजग रहेको बताउनुभएको छ ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा मानवअधिकार, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबारे ल्याइएको विधेयकमा भएको छलफलका क्रममा मन्त्री ढकालले यस्तो बताउनुभएको हो ।
सरकाले राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र र अधिकार संकुचित गर्न खोजेको आरोप सांसदहरु र आयोगका पदाधिकारीले लगाएपछि मन्त्री ढकालले द्वन्द्व बढाउन खोज्ने कसैको गतिविधि स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
द्वन्द्व समाधान गर्ने भन्दा पनि बल्झाउने प्रति सरकार सजग रहेको बताउदै उहाँले सरकार त्यस्ता कृयाकलापबाट विचलित नहुने स्पष्ट पार्नुभयो । मानवअधिकार हननका गम्भीर घटनामा माफी दिने व्यवस्था नरहेको र मानवअधिकार आयोगबारे व्यवस्था गर्न बनेको संशोधन विधेयक फिर्ता नहुने पनि उहाँले बताउनुभयो ।