ईन्द्रावती र मेलम्ची नदी क्षेत्रमा मेशिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न रोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो नदी क्षेत्रभित्र मेशिनरी औजार प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा रोक लगाएको छ ।

मेलम्ची नगरपालिका, क्रसर उद्योग व्यवसायी र सुरक्षा निकायबीचको आज बसेको संयुक्त बैठकले मेलम्ची नगरपालिका अन्तर्गतका ईन्द्रावती तथा मेलम्ची नदी क्षेत्रमा सञ्चालित ९ वटा क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन्का लागि प्रयोग गर्दै आइरहेको मेशिनरी औजारलाई आजैदेखि लागू हुने गरी रोक लगाउने निर्णय गरेको हो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार संघीय मन्त्रालय, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, स्थानीयको सुझावलाई ध्यान दिंदै क्रसर उद्योगले हाल उत्खनन् कार्यमा प्रयोग गर्दै आइरहेको मेशिनरी औजारहरु सञ्चालनमा नगरपालिकाले रोक लगाएको हो ।

यसअघि स्थानीयले क्रसर उद्योग सञ्चालनका कारण वातावरण प्रदुषित भएको, दैनिक जीवनयापनमा गम्भीर असर गरेको भन्दै पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।

भूकम्प पछिको पुर्ननिर्माण कार्यमा आवश्यक पर्ने गिटी, बालुवा, चिप्सको उत्पादन तथा वितरणमा सहज होस भन्ने उद्देश्यले नगरपालिकाले प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन र कार्यालयको निर्णय अनुसार नदीजन्य पदार्थको उत्खनन् कार्यको लागि २०७५ माघ ७ गतेदेखि अनुमति प्रदान गरेको थियो ।

नगरपालिकाले क्रसर उद्योगबाट हाल संकलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिमाण समेत एकीन गरी नदी तथा खोला क्षेत्रमा मेशिनरी औजारको प्रवेश कार्य बन्द गरेको हो ।

मेलम्ची नगरपालिका क्षेत्रभित्र रहेका क्रसर उद्योगहरुले ३ नं. प्रदेश सरकारबाट जारी गरेको नदीजन्य पदार्थको (संकलन र उपयोग) कार्यविधि, २०७५ मा उल्लेख भएका कानुनी प्रावधान र स्थानीय अनुगमन समितिले दिएको निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्ने समेत आजको बैठकमा निर्णय भएको जनाइएको छ ।

अबदेखि सहमति बिपरीत मेशिनरी औजार प्रयोग गरी अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएमा कडा कारवाहि गरिने नगरपालिकाका प्रमुख अर्यालले चेतावनी समेत दिनुभएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..