सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

बलेवा। बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’। कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन।

खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होटल तथा रेष्टुँरामध्येको एक गुरुङ खाजा घरको छेवैमा गोलमालले चनाचटपट र पानीपुरी बेच्ने गरेका छन्। सवारी साधनमा सवार कतिपयले खट्टोपिरो, अमिलो खोज्ने भएकाले गुरुङले रेष्टुरेण्टको छेवैमा चनाचटपट बेच्दै आएका हुन्। सडकमा हुईकिरहेका यात्रीलाई लक्ष गरेर ५९ वर्षीय गुरुङ चनाचटपट भन्दै कराउछन्।

कतिपयले आवश्यकताले त कतिपयले एक बृद्धले कराइरहेको देखेर सहानुभूति राख्दै चनाचटपट खान पुग्छन्। बेलाबेलामा ठट्टा गर्ने, लोकशैलीका गीत गुनगुनाउने र समसामयिक राजनीतिका कुरा गर्ने गुरुङले उनको नजिक पुगेका ग्राहकलाई केही बेर भुलाउछन् र चनाचटपटको व्यापार गर्छन्।

बजारबाट ल्याएको चाउचाउ, गाउँकै खुर्सानी, अमिलो, लसुन, प्याजलगायत सामग्री मिश्रण गरेर बनेको चटपट खाने यात्रुले मुख मिठाएर गुरुङको चटपटको मूल्य तिर्छन् र खुशी हुँदै फर्किन्छन्। एक वृद्ध मानिसले सडकछेउमा कराइकराइ के–का लागि चटपट बेचिरहे्को देख्दा यसमा प्रशस्त फाइदा हुने र सम्पत्ति जोड्नका लागि उहाँले यसो गरिरहेको हुनसक्ने सोच्लान। उमेरले तीनबिस काट्नै लागेका वृद्धको हेरचाह गर्ने कोही नभएर वा दैनिकी गुजार्नका लागि सहयोग गर्ने सन्तान भए पनि कमाउने लालसाले छोडेको छैन भन्नेहरु पनि छन् तर उनको कथा र व्यथा भने बेग्लै छ।

छ वर्ष पहिला दुवै मिर्गौलाले काम गर्न छाडेपछि कयौँ ठाउँमा उपचार गराएर थाकेका गुरुङले अहिले हप्तामा दुई पटक डायलायसिस गराउनुपर्छ। उमेरमा कमाएको पैसा र पैतृक सम्पत्तिसमेत उपचारमा खर्च भएपछि अहिले अस्पताल जाने गाडी भाडा जुटाउनका लागि उनले चटपटको व्यापार गर्दै आएका हुन्।

दुवै मिर्गौलाले काम गर्न छाडेकाले देशका ठूला शहरमा पुगेर नाम चलेका अस्पतालमा उपचार गराउँदा सबै सम्पत्ति सकिए पनि गुरुङले हिम्मत भने पटक्कै हारेका छैनन्। नियमित डायलायसिस गर्न चिकित्सकले भनेकाले सातामा दुईपटक उनी अस्पताल पुग्छन्। अस्पतालमा लाग्ने शुल्क सरकारले निःशुल्क गरे पनि हरेक साता लुम्लेबाट पोखरा पुग्ने र फर्कने यातायात खर्च उनी आफैँले जुटाउनुपर्छ। पोखराको गण्डकी अस्पतालमा डायलायसिस गराउने उनले यातायात खर्च, पोखराको बसाइँमा लाग्ने खर्च र सामान्य घर खर्च चनाचटपटको व्यापारबाट नै जुटाउने गरेका छन्। “भारी बोक्न सक्दिनँ, गह्रौँ काम केही गर्न हुँदैन”, गुरुङले भने, “खर्च जुटाउनकै लागि सडकको छेउमा बसेको छु ।”

बिरामी परी शरीर कमजोर भएर र लाखौँको सम्पत्ति सकिँदा पनि हिम्मत नहारेको उनको भनाइ छ। “आँट्नुपर्छ केही न केही गरे जीवनमा गुजारा चल्छ”, गुरुङ भन्छन्, “छ वर्षदेखि उपचार गराइरहेको छु, जसोतसो चलेकै छ ।” मिर्गौलाको उपचार महङ्गो हुने भए पनि पहिले दाजुभाइको सहयोग र अहिले चनाचटपटको व्यापारले आफूलाई सहज बनाएको उनले बताए।

सामान्य आर्थिक हैसियत भएका गुरुङको परिवारमा श्रीमतीसहित तीन सन्तान छन्। दुई छोरी र एक छोराले विद्यालयतहको अध्ययन गरिरहेकाले खर्च जुटाउन सहयोग गर्ने अरु कोही नभएको उनको भनाइ थियोे। विद्यालय बिदा भएको बेला छोराछोरीले चटपटको व्यापारमा सघाउने गरेको गुरुङले सुनाए। “खर्च कटाएर महिनामा १५हजारदेखि २०हजारसम्म र बचाउने गरेको छु”, उनले भने, “प्राण धान्ने उपाय बनेको छ चटपट ।”

उनी बिरामी हुनुपूर्व किसानी गर्थे। पुर्खाले आर्जेको जमीनमा खेती किसानी गरेर गुजारा चलेकै बेला बज्रपात आइलागे पनि आफूले हिम्मत नहारेको गुरुङले बताए। छिमेकी र दाजुभाइको सहयोगले पहिलो चरणको उपचारमा सघाए पनि राज्यका तहबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो। “मेसिनको शुल्क त तिर्नुपर्दैन तर अस्पताल जानेआउने कसरी गर्नु, हामीजस्ता पीडितको पहिचान गरी सरकारले सुविधा दिनुपर्ने हो”, गुरुङले भने।रासस

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..