
काठमाडौं, २१ वैशाख । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको पैरवीकर्ता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मिडवाइफ दिवस पारेर तेस्रो मिडवाइफ्री सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासंग सम्वन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन स्वास्थ्य, मातृशिशु तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा ज्ञान र सिपमा जोड दिने रहेको छ र सम्मेलन दुई दिनसम्म चल्नेछ ।
प्रत्येक तीन तीन बर्षमा हुने यो सम्मेलन मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले आमा तथा शिशुको मृत्युदरमा कमी ल्याउन हरेक स्वास्थ्य संस्थामा मिडवाइफ्रीहरु राख्नुपर्ने बताएका छन् ।
उनले सरकारले सोचेजस्तै मुलुकलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने हो भने स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।
सरकारले अहिले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।
राज्यमन्त्री यादवले मिडवाइफ्रीसम्बन्धी अध्ययन स्नातकोत्तर तहमा पनि सुरु गरिसकेको जानकारी दिए ।