
कपिलवस्तु । थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया कपिलवस्तुमा पनि देखिएको छ । कपिलवस्तुको वाणगंगा नगरपलिकामा ३ जना सिकलसेलका बिरामी भेटिएका हुन् ।
नगरको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा गरी ३ जना सिकलसेलका बिरामी भेटिएका नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो । रोगको परीक्षणबाट ३ जना प्रभावित भएको पत्ता लागेको उहाँले बताउनुभयो ।
मानिसको शरीरमा रगतको कमी हुनु, रक्तअल्पता हुनु र हसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । यो रोग लागेपछि विस्तारै शरिरका विभिन्न अगंहरुले काम गर्न छोड्नुका साथै रोग लागेपछि करिव १० देखि १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकहरुको भनाइ छ ।
वाणगंगा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणको लागि भनेर ३ लाख रुपैयाँ बजेट छुट्टयाएको थियो । तर, उक्त बजेट उपयोग नहुँदै फ्रिज भएको छ ।