
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पनि पूर्णता दिने बताएका छन्।
अध्यक्ष दाहालले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दावी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन्।
त्यसका लागि भोली (सोमबार) पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिए। आईतबार काठमाडौंमा आयोजित ‘कार्ल माक्र्सः २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुने वित्तिकै करिव ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सारे।
पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष दाहालको भनाई छ। अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।