
काठमाडौँ । संसद्मा जारी सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि नभएको दावी गरेका छन्।
नेता ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको पनि बताए। सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे।
नेता ठाकुरले मधेशका जनतालाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा आपत्ति पनि जनाए। उनले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न पनि गरे।
मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ। ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ, नेता ठाकुरले थपे, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भयो ?’
नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भईरहेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे। उनले राज्य झनै निरंकुश भन्दै गएको अनुभूति भईरहेको पनि बताए । ‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भईरहेको छ ।
यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ’ भन्न नमिल्ने नेता ठाकुरको भनाई छ । उनले संविधानमा आफूहरुको सहमति नरहेको पनि दोहो-याए । नेता ठाकुरले यो संविधानले जनताको मतबाट निर्वाचित आफ्ना पार्टीका सांसद रेशम चौंधरीलाई अपराधि करार गरेको दावी पनि गरे।