संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता, वैकल्पिक शक्ति भएको दावी

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ। सोमबार राजधानीको प्रज्ञा भवनमा यी दलबीच एकता भएको हो। एकता भएसँगै वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले दाबी गरेका छन्।

दुई दलबीच एकतापछि गठन भएको पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नौ बुँदे सहमति पत्रका हस्ताक्षर गरेका छन्।

‘समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा बिद्यमान जातीय, बर्गीय, लैङ्गिक र क्षेत्रिय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ’ सहमति पत्रमा उल्लेख गरिएको छ।

शीर्ष नेताहरुका बीचमा भएको सहमति अनुसार पार्टीमा दुई अध्यक्ष रहनेछन्। संघीय परिषद्को अध्यक्षता भट्टराईले गर्ने छन् भने, केन्द्रीय कमिटीको अध्यक्षता यादवले गर्नेछन्। वरियता रोलक्रम अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई पहिलो तथा बहालवाला उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव दोस्रो वरियतामा रहनेछन्।

संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ। संघीय संसद्मा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन्।

एकीकृत पार्टीको पदाधिकारीमा फोरम नेपालबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने सहमति भएको छ। नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समजवादी पार्टीले नेकपाकै सिको गर्दै दुईजना अध्यक्ष राखेको छ। जसअनुसार संघीय परिषद् नेपालको अध्यक्ष विघटित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई बनेका छन् । उनले देशभरका विभिन्न संघीय कमिटीहरुको नेतृत्व गर्ने भएका छन् ।

विघटित फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति अध्यक्षको जिम्मेवारी लिएका छन् । तत्कालीन एमालेबाट छुट्टिएर संघीय समाजवादी पार्टी नेपाल बनाएका अशोककुमार राई समाजवादी पार्टीमा वरिष्ठ नेता भएका छन् ।

यो पार्टीको सह–अध्यक्षमा फोरमतर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी पार्टीको उपाध्यक्ष्मा आठजना चयन भएका छन् । उपाध्यक्ष बनेकाहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् ।

नयाँ पार्टीको महासचिवको जिम्मेवारी तीनजनाले पाएका छन् । महासचिव बन्नेहरुमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहाय प्रसाद याद रहेका छन् ।

त्यसैगरी उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी चयन भएका छन् । पार्टीको सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र वसन्त सिंहलाई जिम्मेवारी दिइएको छ ।

दुईजना सचिवमा पछि मनोनयन गर्ने सहमति नेताहरुले गरेका छन् । समाजवादी पार्टीको कोषाध्यक्षको जिम्मेवारी प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले पाएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..