
जुम्ला । महालेखापरिक्षकको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार जुम्लाको तिला गाउँपालिकामा ७ करोड ८७ लाख ४७ हजार रुपैया रकम बेरुजु निस्किएको छ ।
जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकामा मध्ये तिला गाउँपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि सपथ ग्रहणका बेला गाउँपालिकालाई बेरुजु मुक्त गाउँपालिका बनाउने संकल्प जनप्रतिनिधिले गरेका थिए ।
उनीहरुका अनुसार जेठ महिनाभित्र काम सकेर असारभित्र फरफारक गरिसक्ने लक्ष राखिएको थियो । तर अहिले सबैभन्दा बढि बेरुजु तिला गाउँपालिकामै देखिएपछि स्थानीय चकित छन् ।
यस्तै चन्दननाथ नगरपालिकामा ३ करोड ५२ लाख ६५ हजार, तातोपानी गाउँपालिकामा २ करोड १३ लाख ४८ हजार, हिमा गाउँपालिकामा १ करोड ६५ लाख ७९ हजार रुपैयाँ बेरुजु निस्केको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यसैगरी सिंजा गाउँपालिकामा १ करोड ५१ लाख ६४ हजार रुपैयाँ, गुठिचौर गाउँपालिका ७५ लाख ८६ हजार रुपैयाँ, पातारासी गाउँपालिका ६० लाख ५५ हजार रुपैयाँ र सबैभन्दा कम कनकासुन्दरी गाउँपालिका ४१ लाख ६८ हजार रुपैयाँ बेरुजु निस्केको महालेखापरिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।