नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर हुने खतरा उच्च !

काठमाडौं । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये सर्भाइकल अर्थात पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा देखिएको छ ।

कम उमेरमा विवाह र धेरै सन्तान जन्माउने महिलाहरु यो रोगबाट बढी प्रभावित छन् ।

महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको भन्दै सरकारले त्यस विरुद्ध खोप कार्यक्रम ल्याउन लागेको बताइएको छ ।

सरकारले सन् २०१५ र १६ मा कास्कि र चितवनमा यो कार्यक्रमको  शुरुवात गरेको थियो । जसमा १३ हजार किशोरीमा खोप लगाईएको थियो । अब प्रत्येक प्रदेशका कम्तिमा एउटा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महिनावारी नभएका ९ देखी १३ बर्ष उमेर समुहका किशोरीहरुलाई यस्तो खोप दिने सरकारको उदेश्य छ । ह्युमन पापिलोमा भाईरसका कारण महिलामा सर्भाइकल क्यान्सर हुन्छ ।

सानो उमेरमा नै विवाह गर्ने , धेरै सन्तान जन्माउने र धेरै जना सँग योन सम्र्पक गर्ने महिलामा सर्भाइकल क्यान्सर हुने खतरा उच्च रहन्छ ।

यो शारीरिक सम्र्पकवाट नै सर्ने रोग हो । रोग प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत महिलामा ह्युमन पापिलोमा भाईरस शरीरमा प्रवेश गरेको २ बर्षमै निस्क्रिय हुने बताइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ५ लाख ७० हजार महिला सर्भाइकल क्यान्सर वाट प्रभावित हुन्छन् ।

सरकारले अघि सारेको खोप सबै जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने यो समस्या कम गराउन सहयोग पुग्छ ।

त्यसो त कम उमेरमा विवाह गर्ने प्रवृत्ति नियन्त्रण गर्ने हो भने पनि सर्भाइकल क्यान्सरको जोखिम स्वतः कम गराउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारणहरू :

  •  सूक्ष्म विषाणु (Human papilloma virus) को गर्भाशयमा सङ्क्रमण ।
  •  कम उमेरमा विवाह तथा यौनसम्पर्क गर्नु ।
  •  कम उमेरमा बच्चा जन्माउनु ।
  •  धेरै बच्चा जन्माउनु ।
  •  एकभन्दा बढी व्यक्तिहरूसंग  यौनसम्पर्क गर्नु ।
  •  यौनरोग तथा गुप्तांगका दीर्घ रोगहरू ।
  • गुप्तांगको सरसफाईमा ध्यान नदिनु ।
  •  चुरोट, बिंडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन ।

पाठेघरको मुखको क्यान्सरको लक्षणहरु :

  • महिनावारी नभएको समयमा पनि रगत (Inter Menstrual Bleeding) देखा पर्नु ।
  • यौनसम्पर्कपछि रगत (Contact Bleeding) आउनु ।
  • महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट रगत (Post Menopausal Bleeding) आउनु ।
  • महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु ।
  • गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।
  • तल्लो पेट दुख्नु, आलस्य हुनु वा धेरै थकाई लाग्नु ।

उपरोक्त कुनै पनि लक्षणहरु देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नु पर्दछ ।

पाठेघरको मुखको क्यान्सरको निदान विधिहरु :

पाठेघरको मुखको क्यान्सरको निदान सुरुको अवस्थामा गर्नसक्यो भने उपचार पनि प्रभावकारी हुन्छ । रोग फैलिसकेको वा ढिलो रोगको निदान हुने गरेको हालको अवस्थालाई परिवर्तन गर्न महिलाहरुले आफ्नो परीक्षण माथि उल्लिखित लक्षणहरू देखा नपरे पनि नियमितरूपले गर्भाशयको स्राव परीक्षण (Pap Smear/VIA )तथा गराउनु पर्दछ ।

यसले गर्दा पाठेघरको मुखमा घाउ वा सुरुको अवस्थामा क्यान्सर पत्ता लाग्न सक्दछ र उपचार गरी क्यान्सर रोकथाम गर्न सकिन्छ । स्वास्थ्यकर्मी वा सम्बन्धित चिकित्सकले यस्तो परीक्षण गर्न साधारण उपकरण र औषधिको प्रयोग गर्दछन् ।

आवश्यकता परेमा रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा (Biopsy) निकाली जाच्न पर्दछ ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख उपचार विधिहरू :

सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । तर रोगको प्रकृति, अरु अंगमा  फैलिएको वा नफैलिएको अवस्थाहरूले उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्दछ । तसर्थ पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्न आवश्यक छ ।

१. शल्यक्रिया : रोग लागेको भाग वा अंगलाई अप्रेशन गरी निकाल्ने गरिन्छ ।
२. रेडियोथेरापी : क्यान्सर भएका कोषकोषिकाहरूलाई मार्न विकिरणको प्रयोग गरिने उपचार विधि । यसका लागि ब्रेकिथेरापी उपकरणको प्रयोग गरी विकिरणको श्रोत गर्भाशयको मुख नजिक राखेर पनि उपचार गरिन्छ ।
३. केमोथेरापी : औषधि (Anti Cancer Drugs) को प्रयोगद्वारा क्यान्सर भएका कोषकोषिकाहरू नाश गर्ने उपचार विधि ।
४. प्यालिएटिभ केयर : रोगीको दुखाई वा अन्य असुविधाहरू कम गर्न गरिने आवश्यक उपचार विधि ।
उपरोक्त उपचार विधिहरू मध्ये एक वा एक भन्दा बढी बिरामी र रोगको प्रकृतिको आधारमा विधिहरूको प्रयोग गरिन्छ । पौष्टिक आहार, बिरामीको स्याहारसुसार तथा परिवारिक स्नेह क्यान्सर रोगको उपचारमा ठूलो महत्व रहेको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथाम :

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्नलिखित कुराहरू गर्नु आवश्यक छ :

  •  सानो उमेरमा विवाह गर्नु हुदैन ।
  • महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष (प्याप स्मेयर) परीक्षण गराउनु पर्दछ ।
  • धेरै जनासंग यौनसम्पर्क गर्नु क्यान्सरको एक कारक तत्व भएको हुनाले सोबाट जोगिनु पर्दछ ।
  • गुप्तांगसम्वन्धी रोगहरूको समयमै उपचार गराउनु पर्दछ ।
  • गुप्तांग सधै सफा राख्नु पर्दछ ।
  • धेरै बच्चा जन्माउनु हुँदैन ।
  • चुरोट, बिंडी, खैनी, तमाखुजस्ता सूर्तीजन्य पदार्थहरूको सेवन गर्नु हुदैन ।
  • पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्न पर्दछ ।
Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..