
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिनुभएको छ ।
सरकारले एक वर्षमा दुरगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उहाँले दाबी गर्नुभयो । प्रचण्डले, दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताउनुभएको छ ।
आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उहाँले फेरि पनि खतरा आउन सक्ने बताउनुभयो ।
राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको विश्लेषण गर्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको भन्दै उहाँले परिर्वतन सुदृढ हुँदै जाने बताउनुभयो ।