
कपिलवस्तु । सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधाको रकम नदिएको भन्दै स्थानीय तहले सुविधा बन्द गरेका छन् ।
स्वास्थ्य संस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुले सुविधावापत यातायात खर्च, नियमित गर्भ जाच उत्प्रेरणा रकम पाउनुपर्ने भएपनि सुविधा पाउन सकेका छैनन् । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य सस्थामा अहिले प्रसुती गराउने महिलाहरुले सो सुविधा पाउदैनन् ।
महिलाहरु सुत्केरी भएपछि रित्तो हात फर्कन वाध्य छन् । सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भए बापत भत्ता स्वरुप एक हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी एक हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि विभागले रकम नपठाएको भन्दै सुत्केरीलाई रित्तो हात फर्काउने गरेको स्वास्थ्य कर्मीहरुको भनाइ छ ।
आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताइएको छ ।
शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले सरकारसँग माग गरिएको र रकम नपठाउदा सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिनुभयो । शिवपुर स्वास्थ्य चौकीका इञ्चार्ज लेखनाथ पौडेलका अनुसार हालसम्म ७७ जना सुत्केरी महिलाहरुलाइ सुविधा रकम दिन सकिएको छैन ।