
काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रममा राखिएको साना शब्दमा मात्रै केन्द्रित रहेर विवाद बढाउने काम गरेको बताउनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले ‘मेरो सरकार’ भन्ने शब्दप्रति कसैले कुनै आपत्ति प्रकट गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपतिले अपनत्व ग्रहण गरेर ‘मेरो सरकार’ भन्नु भएकाले त्यसमा कसैले आपत्ति प्रकट गरिरहनु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले यदि त्यो शब्द भन्नै नहुने भए नेपाली शब्द कोषबाटै डिलिट गरिदिनुपर्ने अवस्था आएको हो भन्दै प्रश्न पनि गर्नुभयो ।
‘मेरो र सरकार त अब राख्नै भएन नेपाली शब्दकोशमा’, उहाँले प्रश्न गर्नुभयो, ‘त्यसो भए शब्दकोशबाटै यसलाई हटाउने हो त ?’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यदि मेरो सरकार भन्ने शब्दलाई हटाउने नै हो भने त जय नेपाल पनि डिलिट गरेर फालिदिनु पर्ने होला ? किनकी जय नेपाल त प्रहरीले भन्छ । प्रहरीले भन्छ भन्दैमा त्यो उसैको मात्रै हुन्छ भन्ने हो र ? हाम्रा प्रतिपक्षका साथीहरुले पनि अहिले त्यही शब्द भेट हुँदा र अन्त्यमा भन्छन् ।’
अधिकांश समय राष्ट्रपतिको सम्बोधन विवादबारे बोल्नुभएका सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘जय नेपाल त २०१७ सालमा जननिर्वाचित बीपी कोइरालाको पहिलो दुई तिहाईको सरकार अपदस्थ गरेर लोकतन्त्र निलिसकेपछि तत्कालीन राजा महेन्द्रले जय नेपाल श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् भनेर भनेकाले त्यो शब्द त झन महेन्द्रको हुनुपर्ने हो नि ।’
‘कांग्रेसले अहिले पनि त्यही जय नेपाल बोकिर हिँडिरहेको छ’, उहाँले प्रश्न गर्नुभयो, ‘त्यसो भए के कांग्रेस महेन्द्रको जय नेपालवादी हो त ?’ महेन्द्रले पुष १ गते चालेको कदमलाई लोकतान्त्रिक आन्दोलनको इतिहासमा अहिले पनि कालो दिनको रुपमा लिने गरिएको पनि उहाँले स्मरण गराउनुभयो ।
त्यस्तै मन्त्री बाँस्कोटाले त्यही बेला बीपी कोइराला चीन जाँदा ‘मेरो सरकार, मेरो जनता, मेरो देश’ भन्नुभएको र त्यो बेला ४ सिट रहेको कम्युनिष्टले किन मेरो भनिस् भनेर कुनै विरोध नगरेको पनि सम्झनुभयो ।
अहिले शब्दलाई लिएर विरोध गर्नुको कुनै आवश्यकता नरहेको बताउँदै सामाजिक तथा आर्थिक विकासमा सरकारले लिएका एजेण्डालाई लिएर बहस गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ इङ्गित गर्दै मन्त्री बाँस्कोटाले शब्दको विषयलाई लिएर संसदमा ड्याम–ड्याम टेबल नै फुट्ने गरी हान्नु जरुरी नरहेको उल्लेख गर्नुभयो ।