
काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच भएको विवादमा सभामुख मुख्य दोषी रहेको बताउनुभएको छ ।
सभापति देउवाले सभामुख कृष्णबहादुर महराले संसदमा बोलिएका संसदीय मर्यादा विपरीतका शब्दहरुलाई हटाउन सोही समयमै हिम्मत गर्नुपर्ने धारणा राख्नुभयो । ‘सभामुखले संसदमा उतिबेलै हिम्मत गर्नुपर्ने थियो । उसै बेला डिलिट गर्न भन्न सक्नुपर्ने थियो । अहिले डिलिट भयो राम्रै भयो’, सभापति देउवाले भन्नुभयो ।
संसदमा प्रधानमन्त्री ओलीले संसदीय परम्परा भन्दा बाहिर गएर बोलेको सभापति देउवाको दाबी थियो । आज नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधान मन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवाले वर्तमान सरकार सबै ठाउँमा हष्तक्षेप र नियन्त्रण गर्ने हिसाबले अघि बढिरहेको आरोप लगाउनुभयो ।
सरकार अधिनायकवादी र सकभर सबै नियन्त्रण गर्ने प्रयासले अघि बढेको सभापति देउवाले आरोप लगाउनुभयो । सरकारलाई नीति, नियम, कानुनमा रहेर काम गर्न सुझाव दिंदै सरकार नसच्चिएमा काँग्रेस कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभयो ।