
भक्तपुुर । मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ ।
नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो ।
नगरपालिकाले पुरातात्विक, धार्मिक, ऐतिहासिक सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि शुरु गरेको गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाभित्र भौतिक संरचनाका रूपमा रहेका धार्मिक सम्पदा एवं मठ मन्दिर, पाटी पौवा, ढुङ्गेधारा तथा ऐतिहासिक इनार, सम्पदा, ऐतिहासिक बस्ती, चौताराको खोज, अनुसन्धान, उत्खनन्, संरक्षण, पुनःनिर्माण, जीर्णोद्धार र विकास गर्दै यसको संरक्षण गर्नेगरी नगरपालिकाले गुरुयोजना निर्माण गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी अमूर्तरूपमा रहेका यहाँका परम्परागत भाषा, हस्तलिपि, वेषभूषा, गीत÷सङ्गीत, बाजागाजा, नृत्य तथा झाँकी, रीतिरिवाज तथा परम्परा, गरगहना, जात्रा, परम्परा, ऐतिहासिक दस्तावेज, ग्रन्थ, पम्परागत खानेकुराको समेत खोज तथा अनुसन्धान गरिने, लोप भइसकेकालाई पुनरजीवन दिने र लोपोन्मुख अवस्थामा पुगेकालाई समेत संरक्षण गरिने भएको छ ।
नगरपालिकाभित्र रहेका विशेष व्यक्तित्व एवं गुरुको समेत योगदानको कदर गर्ने र उनीहरुको जीवनी तयार पार्ने, उनीहरुको कला एवं शिक्षालाई संरक्षण गर्ने योजना समेत नगरपालिकासँग रहेको छ । “मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजान्छौँ, मध्यपुरथिमिभित्र जीवित सङ्ग्रहालयसमेत निर्माण शुरु भएको छ, मध्यपुरथिमिलाई नमूना साँस्कृतिक नगरी बनाउछौ ।”
नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयसमेत बनाउने गरी नगरपालिकाले कार्ययोजना अगाडि बढाएको र यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढाउने उहाँको भनाइ छ ।
नगरपालिकाले सांस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काम भइरहेको छ, गुरुयोजना निर्माणपछि नगरपालिकाले तीन वर्ष, पाँच वर्ष र १० वर्षभित्र सम्पन्न गर्ने कुन कुन योजना रहन्छ भन्ने समेत निक्र्योल गर्नेगरी सुक्ष्मरूपमा अध्ययन गर्दै गुरुयोजना निर्माण गरिरहेका छौँ ।” गुरुयोजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि आगामी १० वर्षभित्र मध्यपुरथिमि नगरपालिका देशकै नमूना नगरपालिकाको रूपमा स्थापित हुने विश्वास लिएको उहाँले बताउनुभयो ।