
डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालीका क्षेत्रभित्रै सुत्केरी महिलालाई गाईभैँसीको दूध नदिइने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
सुत्केरी महिलालाई घरमा पालेको गाईभैँसीको दूध दिँदा गाईभैँसीलाई रोग लाग्ने तथा दूध दिन छोडने रुढीवादी परम्परा समाजमा विद्यमान रहेको उनीहरुले बताएका हुन् । अमरगढी नगरपालीकाको आयोजनामा सुरु भएको ३ दिने पोषण तालीममा सहभागी स्वास्थ्यकर्मीले सदरमुकाममै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्तर्गत दूध, दही नपाउने गरेको बताएका छन् ।
सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा उनीहरुले नपाएको सहत्रलिङ स्वास्थ्य चौकी राईकी अनमी तुलसी भट्टले बताउनुभयो । ‘गाँउ तिर त धेरै छ तर यही नगरपालीका भित्र समेत सुत्केरीलाई घरमापालेको गाइभैँसीको दूध दिइदैन’– उहाँले भन्नुभयो ‘बरु उनीहरुले दूध बजारमा लगेर बेच्छन तर गाई बिग्रीन्छ भनेर सुत्केरी भएकी बुहारी–छोरीलाईु खुवाउँदैनन् ।’ ‘हामीले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाईबुझाई गरेर पठाउँछौँ तर घरमा गएर उनीहरुले त्यसो गदैनन ।’ भुमीराज स्वास्थ्य चौकीकी अनमी शान्ती भट्टले भन्नुभयो ।
पोषणयुक्त खानेकुरा मात्र नभई सुत्केरीलाई सुरक्षित आवासबाट समेत वञ्चित गरिएको सहत्रलिङ स्वास्थ्य चौकी राईकी अर्की अनमी चित्रा मालीले बताउनुभयो । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको एक तथ्याङ्कले देखाएको छ ।
नगरपालिको पछिल्लो तथ्याङ्क अनुसार नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २ सय ३५ बालबालिकामा मध्य शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख पनेरुले जानकारी दिएका छन् ।