
काठमाडौ । आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएका छन् ।
राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरी व्यापारीहरूसँगको मिलेमतोमा राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूले करोडौं रकम भारत तथा अस्टे«लिया पठाउने गरेको गुनासा आएपछि ती कर्मचारीमाथि छानबिन र अनुसन्धान गर्न उच्च दबाब परेको छ ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष यस विषयमा उजुरी आएको बताए । ‘राजस्व ठगेर रकम असुली गरेको भन्ने उजुरी, गुनासा र जानकारी आएका छन्, यस विषयमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने ।
स्रोतका अनुसार राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूको साठगाँठ राजस्व ठगी गर्ने व्यापारीसँग अत्यधिक हुने गरेको छ । राजस्व सेवा समूहका कर्मचारी मात्रै रहने ती निकायमा अन्य सेवा समूहका कर्मचारी टिक्नै सक्दैनन् । ‘राजस्व र करदाता कार्यालयमा संरचनागत भ्रष्टाचार यति धेरै मौलाएको छ कि त्यसले मुलुकको करोडौं राजस्व गुमिरहेको छ,’ एक सहसचिवले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर र राजस्व कार्यालयका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी आउने क्रम यथावत् रहेको जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले राजस्व, करदाता कार्यालयलगायत जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सबै सरकारी निकाय अख्तियारको उच्च निगरानीमा रहेको जानकारी दिए । कर छलीलगायत विभिन्न विषयमा अख्तियारमा करदाता कार्यालय र राजस्व कार्यालयका कर्मचारीविरुद्ध केही उजुरीहरू रहेको प्रवक्ता कोइरालाले बताए । राजधानी दैनिकमा खबर छ।