
काठमाडौ । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने भन्दै अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाउनुभएको छ ।
युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डसहितका बरिष्ठ नेतातर्फ इंगित गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले विचारमा स्पष्ट नभए कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिनुभयो ।
पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाका लागि पार्टीभित्र सार्थक बहस र छलफल हुनुपर्ने बताउनुभयो । नेता पोखरेलले पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्ने बताउनुभयो ।
उहाँले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गती कसैले रोक्न नसक्ने बताउनुभयो । पोखरेलले केही दिनअघि मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पनि जनताको बहुदलीय जनवाद नै नेकपाका लागि सार्थक विचार हुने भन्दै यसमा बहस हुनुपर्ने बताउनुभएको थियो ।