
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरि सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले जानकारी दिनुभयो । छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसीनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन् ।
बिभिन्न विद्यालयमा अहिले १ सय १० वटा स्मार्टकार्ड वितरण गरिएको छ । सेनेटरी प्याड मेसिन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखीएको उहाँले बताउनुभयो । अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
मेसिन राखेपछी महिनावारीका कारण छात्राहरु दुई÷तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयका शिक्षक शिक्षक भुवनेश्वरी शाहीले बताउनुभयो ।