
एजेन्सी ३ जेठ । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच वर्षको कार्यकालमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै चुनाव प्रचारको अन्तिम घडीमा सञ्चार माध्यमसामु प्रस्तुत भएका छन् ।
पार्टीका अध्यक्ष अमित शाह सहित शुक्रबार नयाँ दिल्लीको भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदी सहभागी भएका थिए । तर पत्रकारले सोधेको प्रायशः प्रश्नको उत्तर भने अध्यक्ष शाहले नै दिएका थिए । मोदी सरकारले पाँच वर्षमा झण्डै एक सय ३३ योजनाहरु लिएर आएको शाहले बताएका छन् ।
“संगठनको आकार अनुसार हामीले प्रधानमन्त्री मोदीको कामलाई तल्लो स्तरका जनतासम्म पुर्याउने प्रयास गरेका छौँ । २००६ मा हामीसँग ६ सरकार थियो र आज हामीसँग १९ सरकार छ” – पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहले भने ।
प्रधानमन्त्री मोदीले पूर्ण बहुमत भएको सरकार पाँच वर्ष पूरा गर्दै दोस्रो पटक आउन खोजिरहेको बताएका थिए। सरकार मजबुत हुँदा आईपीएल, रमजान र विद्यालयको परीक्षा र बाँकी चीज शान्तिपूर्ण ढंगबाट गर्न सकिने पनि बताएका छन ।’
यो लोकसभा निर्वाचनमा बीजेपीले तीन सयभन्दा बढी सिट ल्याउनेमा ढुक्क रहेको भन्दै पार्टीका अध्यक्ष अमित शाहले आफ्नो धारणा राखेका थिए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीभन्दा पार्टी अध्यक्ष अमित शाहले धेरै प्रश्नको उत्तर दिए । पत्रकारहरुले धेरैजसो प्रश्नको उत्तर अमित शाहबाट नै लिए । भोपालबाट साध्वी प्रज्ञाले जित्दा पार्टीले स्वागत गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा प्रधानमन्त्री मोदी केही बोलेनन्, मात्र मुस्कुराइरहे ।