राष्ट्रिय प्रत्यारोपण केन्द्रका ११ जना नर्स पक्राउ

काठमाडौं ३ जेठ प्रत्यारोपण केन्द्रमा शान्तिपूर्ण धर्नाको तयारी गरिरहेको समयमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई शुक्रबार बिहानै भक्तपुर प्रहरीले पक्राउ गरेको छ । लगातारको आन्दोलन र अनसनका कारण पनि माग पूरा नभएपछि उनीहरुले अस्पतालमै धर्नाको कार्यक्रम गर्न लागेका थिए।

गत बैसाख ११ गतेदेखि विभिन्न माग राखी केन्द्रका नर्सहरु आन्दोलनमा छन्। आन्दोलनरत मध्ये ८ दिनदेखि आमरण अनसनमा २ जना नर्स रहेका छन्। अनसनमा बसेका उनीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको बताइएको छ।

अस्पताल प्रशासनले प्रहरी बोलाएपछि धर्नाको तयारी गरिरहेका ११ जना नर्स पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये ७ जनालाई जागाती प्रहरी वृत्तमा राखिएको छ भने बाँकीलाई ठिमीमा राखिएको प्रहरीले बताएको छ।

आन्दोलनरत नर्सहरु प्रहरी नियन्त्रणमा परेको यो तेस्रो पटक हो। उनीहरु यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नर्सिङ संघको कार्यालय लाजिम्पाटबाट पक्राउ परेका थिए।

कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्ने लगायतका माग आन्दोलनरत नर्सले राख्दै आएका छन्।

नर्सहरुको मागविपरीत लोकसेवा आयोगको विज्ञापन खुलेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्। लगातारको आन्दोलन र अनसनका कारण बिहिबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाई परीक्षा स्थगित गर्न आग्रह गरेको छ।

लोकसेवामा आज नर्सिङ संघ, केन्द्रका निर्देशक, आयोगका पदाधिकारी र आन्दोलनरत नर्सका प्रतिनिधिबीच परीक्षा स्थगित गर्ने विषयमा छलफल हुने बताइएको छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..