
काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। राजधानीमा सवारी साधनको संख्या कम छन्। विहानै गन्तव्यतर्फ निस्किएका सार्वसाधारण सधारी सधान कुरेर बसेका छन्।
राजधानीलगायत मुलुकभरका सुरक्षा व्यवस्था कडा पारिएको छ। राजधानीको चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
यसैबीच मुलुकका विभिन्न स्थानमा बम बिस्फोटका घटना भएका छन्।
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम बिस्फोट भएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ। बम विप्लव समूहले विस्फोट गराएको अनुमान गरिएको छ।
रुपन्देहीको कोटिहवा बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको बताइएको छ । बम भउको आशंकामा शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको छ । यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको बताइएको छ । यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ । यसैगरी कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको स्थानीयले बताएका छन् । उनीहरुले प्रहरीलाई खबर गरेको जनाएका छन् । बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् । बुधबार राती मात्रै चौधरी समुहको नवलपुरको उद्योगमा बम विस्फोट गराइएको थियो । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव समूका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।