निर्मला पन्त र केशव झा हत्या प्रकरण, सूचनाको स्रोतबिना नै अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सूचनाको स्रोतबिना नै अनुसन्धान गरिरहेको छ ।

हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी दुबै घटनाको अनुसन्धानलाई निचोडमा पु¥याउन सकेको छैन ।

हाल आएर प्रहरीले निर्मला हत्या र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको घटनाका रूपमा लिन थालेको छ । कारण दुबै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन । प्रहरीले सूचनाको ‘लिड’ पाए ‘भेरिफिकेसन’ गर्न सहज हुने बताउँदै आएको छ ।

प्रहरी स्रोत भन्छ, ‘निर्मला हत्या र पूर्वराजदूत झाको हत्याको केसमा सिमिलारिटी छ, दुबै हत्यामा सूचनाको स्रोतसमेत भरपर्दो छैन, सूचनाको लिड नहुँदा भेरिफिकेसन गर्न प्रहरीलाई सकस परिरहेको छ ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पूर्वराजदूत झा हत्या प्रकरणमा उनको उठबस कोसँग थियो, दैनिक रुटिङ के थियो र घरमा को को आउने जाने गर्थे भन्नेमा प्रहरीले भरपर्दो सूचना पाउन नसकेको स्विकारे ।

‘पूर्वराजदूत झाको हत्यामा प्रहरीले भरपर्दो सूचनाको स्रोत पाएको छैन, उनको उठबस कोसँग थियो, दैनिक रुटिङ के थियो र घरमा को को आउने जाने गर्थे भन्नेमा प्रहरीले कतैबाट पनि सूचना पाउन सकेको छैन,’ प्रहरी प्रवक्ता सुवेदीले भने, ‘तर पनि अनुसन्धानलाई ह्युमन इन्टेलिजेन्समार्फत जारी राखिएको छ ।’

निर्मला हत्या प्रकरणमा समेत सुरुवाती चरणमै प्रहरीबाटै लापरबाही भएपछि अनुसन्धानमा समस्या देखिँदै आएको थियो । त्यसपछिका दिनमा समेत प्रहरीले कञ्चनपुरमा चर्किएको आन्दोलनका कारण अनुसन्धानलाई अघि बढाउन समस्या झेल्दै आएको थियो ।

प्रहरीले निर्मला हत्या प्रकरणलाई समेत ह्युमन इन्टेलिजेन्समार्फत अघि बढाइरहेको जनाएको छ । प्रहरीले जटिल प्रकृतिका अनुसन्धानलाई तत्कालीन अवस्थामा घटनामा प्रयोग भएका साधन, घटनास्थलको अवस्था र सम्पर्क भएका साधनका आधारमा अनुसन्धानलाई अघि बढाउने गरेको छ । यस प्रक्रियालाई भने प्रहरीले निर्मला र झा हत्या प्रकरण दुबैमा प्रयोग गरिसकेको छ ।

तर, अहिले भने प्रहरीले त्यसपछिको चरणमा घटनास्थल वरपरका स्थानीयसँग घटनास्थलमा त्यस समय हिँडडुल गरिरहेका व्यक्तिको अवस्था, बढी आवतजावत गर्ने व्यक्ति र उनीहरूबारे अनुसन्धान गरिरहेको छ । प्रहरीले सो किसिमको अनुसन्धानलाई ह्युमन इन्टेलिजेन्समार्फतको अनुसन्धान भन्ने गरेको छ ।

प्रहरीले निर्मला हत्या प्रकरणमा हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने एक हजार बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । यस्तै, हत्यामा संलग्नको आशंकामा शंकास्पद व्यक्तिहरूको हुलियाका आधारमा समेत प्रहरीले स्केच बनाएर अनुसन्धानलाई अघि बढाउँदै आएको छ ।

गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । फ्रान्सका लागि पूर्वराजदूत झाको भने आफ्नै घरमा सुतिरहेको अवस्थामा ३ भदौ राति हत्या भएको थियो। राजधानी दैनिक

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..