
काठमाडौ। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले छैठौं जित निकालेको छ। गएराती भएको खेलमा दिल्लीले इलेभेन पन्जाबलाई ५ विकेटले हराएको हो।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले २ बल बाँकी छंदै ५ विकेट गुमाएर पुरा गर्यो। दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए। धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो। पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय पारि खेले। पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए।
यस्तै कागीसो राबडा र अक्षर पटेलले समान २—२ विकेट लिए। जितसँगै दिल्ली १२ अंक जोडेको छ। त्यसअघि हिजै भएको अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरेको छ।
मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै पूरा गर्यो। राजस्थानका लागि कप्तान स्टिभ स्मिथले नटआउट ५९ रन बनाए। जयपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको मुम्बईले निर्धा्रित २० ओभरमा ५ विकेट गमुाउँदै १ सय ६१ रन बनाएको थियो। उसका लागि क्विन्टन डिककले ६५ रन बनाएका थिए।
आईपिएलमा आज दिउँसो सवा ४ बजे सनराईजर्स हैदरावाद र कोलकाता नाईट राईडर्स भिड्दा राती सवा ८ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्स वीच प्रतिस्पर्धा हुनेछ।