पार्टी एकता प्रक्रिया पूरा, भोलिसम्म टुंगो लाग्छः प्रचण्ड

काठमाडौं। सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकी काम टुंगिएको बताएका छन्। अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि घोषणा गर्ने गरी पार्टी एकताको बाँकी काम पनि टुंग्याइएको घोषणा गरेका हुन्।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई सोमबार घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको जानकारी दिए। अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भएपनि अव ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे÷नगरेको समिक्षा गरेर अघि बढने पनि बताए। उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको बताए।

एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू अहिले सक्रिय छन् ।

जनप्रतिनिधिमा निर्वाचित भएका व्यक्तिलाई पनि जिल्ला कमिटिको नेतृत्व दिने गरी तीन नेताबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार वरिष्ठ नेता नेपालले यो विषयलाई कडाईका साथ राखेका छन्। अध्यक्ष केपी ओली समूह केन्द्रमा बलियो भए पनि तत्कालीन एमालेको जिल्ला कमिटिमा नेपाल समूह बलियो थियो।

सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..