कम्युनिस्टको ७० वर्ष, टुट फुटमा चलेकै छ

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ। सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ। यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ।

शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ। तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।

सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए। नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल वि।सं २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

‘पहाड, पर्वत, खोलानाला जग्गाजमिन सबको, मालिक हामी दास बनौं किन ? हिस्सा सबमा सबको’ भन्ने उद्घोषकासाथ पहिलो घोषणापत्रले लोकजनवादी नेपालको निर्माण ग¥यो। पार्टीले सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो।कम्युनिस्ट पार्टी स्थापनाको चार वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो।

त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए। दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव भए। तर शुरुदेखि रायमाझी दरवार निकट रहेकाले २०१७ सालमा पहिलो पटक पार्टी विभाजन भयो। वि।सं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काराबास पठाएको घटनालार्ई केशरजङ्ग रायमाझीले स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिए, पार्टी विभाजनको रेखा त्यहीबाट कोरियो।

समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो। त्यसपछि २०२५ सालमा पार्टी पुनः विभाजनमा पर्‍यो। २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गरी दुईटा समूह बन्यो। एउटाको नेतृत्व सिपी मैनाली र अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गरे। २०३८ सालमा रायमाझी समूह पनि विभाजन भयो।

२०२८ सालतिर केपी शर्मा ओली झापाली समूहको सक्रिय युवा नेता थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेलाका कुनै धारमा नभए पनि पुष्पलालसँग राम्रो सम्बन्ध बनाएका थिए। तर उनी पुष्पलालसँग बसेनन्। उनी मोहनविक्रम सिंहसँग रहेर काम गरे। यता, झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल को–अर्डिनेसन कमिटी बनायो।

यही समूह मिलेर २०३५ मा सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । वि।सं २०३६ सालमा मनमोहन अधिकारीले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी जनमत संग्रहमा बहुमतको पक्षमा लाग्यो। तर त्यतिबेला गठन भएको मालेले जनमतसंग्रह बहिष्कार गर्‍यो। पुष्पलालको निधनपछि उहाँको समूहलाई सम्हाल्दै आएका बलराम उपाध्याय र साहना प्रधानले २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बनाए।

विसं २०४६ को जनआन्दोलनमा मनमोहन सिहं नेतृत्वको पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा गठन गरेको थियो। जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि नेकपा माक्र्सवादी र नेकपा माले बीच एकता कायम भयो। एकतापछि एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो र त्यसको महासचिवमा मदन भण्डारी निर्वाचित भए। विसं २०५० जेठ ३ गते मदन भण्डारीको निधनभएपछि माधवकुमार नेपाल महासचिव बने।

महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गरे। पछि वामदेव गौतम एमालेमै फर्किए। जनमत संग्रहमै २०३६ मा मोहनविक्रम सिंहको चौथो महाधिवेशन पनि विभाजित भयो। त्यसबाट निर्मल लामा निस्केर नेकपा (चौम) गठन गरे। मोहनविक्रम सिंहको साथमा रहेका ‘प्रचण्ड’ सक्रिय नेता थिए त्यसक्रममा २०४१ सालको पाँचौं महाधिवेशनबाट मोहन वैद्य (किरण) महामन्त्री भए। पछि सो पार्टीबाट फेरि मोहनविक्रम सिंह अलग भए। मोहन वैद्यले नेकपा मशाल बनाए र मोहनविक्रमले मोटो मशाल बनाए। प्रहरी बुथ आक्रमण गर्ने सेक्टर घटनापछि बैद्य नेतृत्वमा रहेनन्।

२०४५ सालमा नेकपा मशालले प्रचण्डलाई महामन्त्री बनायो। पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनपछि प्रचण्ड नेतृत्वको पार्टी नेकपाले मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाउने निर्णय गर्‍यो । एकताको दुई वर्ष नबित्दै सशस्त्र युद्धको विषयलाई लिएर सो पार्टीमा मतभेद शुरू भएको थियो। त्यही मतभेदका कारण २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल लागयतले नेकपा (एकता केन्द्र) गठन गरे। पछि प्रचण्ड पार्टीको नामसँग माओवादी जोडेर सशस्त्र आन्दोलनको घोषणा गरे।

जनयुद्ध चलिरहेकै बेला २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रबीच एकता भयो। तर त्यो पार्टी धेरै दिनसम्म एकसाथ रहन सकेन। २०६३ सालमा फेरि विभाजित भयो। माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठको समूहले त्यसैसँग एकीकरण ग¥यो भने चित्रबहादुर केसी, साध्यबाहदुर भण्डारी, सीपी मैनाली, मोहन विक्रम सिंह अलग अलग पार्टी बनाएर नेतृत्व गरे। पछि संसदीय व्यवस्थालाई लिएर माओवादीबाट मोहन वैद्य अलग भए।

२०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी तत्कालिन नेकपा (एमाले) र तत्कालिन (माओवादी केन्द्र) बीच एकीकरण भयो। एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। नेकपा बन्नेक्रमा विश्वभक्त दुलाल (आहुती), गोपाल किँराती अलग भए। ‘मुठ्ठीभर सामन्तको कब्जामा रहेको सत्ता हटाएर जनताको वास्तविक सरकार बनाउने’ उदेश्यसहित स्थापित कम्युनिष्ट पार्टीलाई अहिले साँच्चि नै स्थापनाकालीन नीति कार्यन्वयन गर्ने अवसर छ।

यद्यपी २०४७ सालपछि सबभन्दा बलियो सरकारको रुपमा गठन भएको वर्तमान सरकारलाई वास्तविक कम्युनिष्ट सरकार नभएको भन्दै परम्परागत अवधारणालाई पछ्याईरहेका केहि समूह अझै पनि छुट्टै कम्युनिष्ट पार्टीको रुपमा क्रियाशील छन।

नेकपाका नेताहरुले एउटै कम्युनिष्ट पार्टी बन्नुको विकल्प नरहेको बताउँदै उनीहरुलाई पनि बदलिँदो परिस्थिति अनुसार नयाँ ढंगको कम्युनिष्ट पार्टी बनाउने गरी मूलधारमा एकीकृत हुन आग्रह गरिहेका छन्।। तर, वामबुद्धिजीवी एवं लेखक श्याम श्रेष्ठ छन्–अलग अलग साना साना समूहमा रहेका कम्युनिस्टहरुको बीचमा एकीकरण तत्काल सम्भव छैन।’

जनमतको हिसाबले अहिले पनि देशको धेरै मानिसहरु कम्युनिष्ट पार्टीप्रति आस्थावान छन्। तर को वास्तविक कम्युनिष्ट को नक्कलि कम्युनिष्ट भन्ने पुरानो आरोप प्रत्यारोप अहिले पनि विभिन्न टुक्रामा विभाजित कम्युनिष्टहरुबीच जारी छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..