यति र ओम्नीसँगै ओली सरकारले सेटिङ्ग मै यसरी पोसेको थियो ‘बतास’: नारायणहिटी मै रेष्टुरेन्ट ?

  • 1 week अगाडि

विनोद घिमिरे, काठमाडौँ । सरकारमा रहेका प्रभावशाली व्यक्तिहरूको सहयोगमा सार्वजनिक सम्पत्ति व्यापारिक प्रयोजनमा उपयोग गर्दा बतास अर्गनाइजेसन विवादमा आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा समेत जोडिइन्। बतास अर्गनाइजेशनको बतास फाउन्डेसनका सल्लाहकारहरूमध्ये एक राणा समेत रहेको खुलेसँगै बताससँगै उनी पनि विवादमा आइन्।

पशुपति धर्मशाला, पाटनको सार्वजनिक पाटीको व्यापारिक दोहन गर्दै आएको बतासले पर्यटन मन्त्रालयका तत्कालीन नेतृत्व र नारायणहिटी सङ्ग्रहालय विकास समितिको नेतृत्वलाई प्रभावमा पारेर नारायणहिटी परिसरमा रेस्टुरेन्ट खोल्न भवन बनाएको सार्वजनिक भएसँगै पर्यटन मन्त्रालयले बिहीबार छानबिन समिति गठन गर्‍यो।

बतास र आरजुको सम्बन्धबारे मङ्गलवारदेखि नै समाचार आइरहेका थिए। बुधबार बतास अर्गनाइजेशनको वेबसाइट हेर्न नमिल्ने बनाइयो। अनि बिहीबार राणाले आफू ६ वटा संस्थासँग मात्रै आबद्ध रहेको दाबी गर्दै आफ्नो फेसबुक पेजमा प्रेस नोट राखिन्। उनले राखेको ६ वटा संस्थामा बतास फाउन्डेसनको नाम छैन।

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाको दाबी अनुसार उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) मा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी, नेपालमा संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ मा संस्थापक एवं वर्तमान अध्यक्ष, नामीमा अध्यक्ष, उल्लेन्स स्कुलको व्यवस्थापन समितिमा अध्यक्ष र ब्लड डोनर्स एसोसिएसनको संरक्षक छिन्।

तर बतासले भने बकाइदा उनको नाम र तस्बिरसहित सल्लाहकार समूहमा राखेको छ। उनीसँगै क्रिस वार्डल, खेमराज उपाध्याय सल्लाहकार समितिमा छन्। फाउन्डेसनको अध्यक्ष आनन्द बतास आफैँ छन्। निर्देशकमा पूर्व मिस नेपाल सुगारिका केसी छिन्। महासचिवमा विन्दु मानन्धर छिन्।

बतास अर्गनाइजेसन नारायणहिटी दरबार संग्रहालयमा एक वर्षअघि गैरकानुनी रूपमा प्रवेश गरेको थियो । बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारकै पालामा अनुमति पाएको थियो । १७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो ।

बतास समूहले नारायणहिटी परिसरको सात रोपनी क्षेत्रफलमा रहेको भवन र बाहिरको जग्गा महिनाको दुई लाख २१ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको थियो । बतास समूहले नारायणहिटी दरबारको मूल गेटतर्फ चिया तथा कफी सप चलाउने गरी अनुमति लिएको थियो । संग्रहालयभित्र रोयल बगैँचा रेस्टुरेन्ट सञ्चालनका लागि अनुमति पाएसँगै बतास समूहले धमाधम संरचना निर्माण सुरु गरेको थियो ।

गत वर्ष नारायणहिटी व्यवस्थापन समितिले आह्वान गरेको टेन्डरमा चारवटा कम्पनी सहभागी भएका थिए, जसमध्ये तीनवटा बतासअन्तर्गतकै कम्पनी थिए । बतासले नै नारायणहिटी पाउने गरी सेटिङमा टेन्डर आह्वान गरिएको थियो । टेन्डरमा सहभागी बतास समूहभन्दा बाहिरको जोकर रेस्ट्रो तथा लन्जलाई भने प्राविधिक रूपमै असफल भएको भन्दै टेन्डर प्रक्रियाबाट हटाइएको थियो । बतास समूहका तीन कम्पनीलाई प्राविधिक रूपमा सफल बनाएर कम्पनी छनोट गरेको तथ्य खुलेको छ । बतास समूहका ‘बतास एसोसिएट्स’, ‘बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट’ र ‘होटेल आनन्द’ टेन्डरमा सहभागी थिए ।

रेस्टुरेन्ट सञ्चालन गर्न नारायणहिटी दरबारको एउटा भवनका लागि मात्र टेन्डर आह्वान गरिएको थियो । भवनको मासिक भाडा न्यूनतम दुई लाख २० हजार चार सय ४० रुपैयाँ निर्धारण गरी टेन्डर आह्वान गरिएकोमा होटेल आनन्दले दुई लाख २० हजार पाँच सय, एसोसिएट्सले एक लाख ६० हजार र बिपिएसले दुई लाख २१ हजार ६ सय १८ रुपैयाँ कबोल गरेका थिए । र, तीनवटा कम्पनीमध्ये बिपिएसले सबैभन्दा बढी रकम तिर्न कबोल गरेको भन्दै संग्रहालय समितिले दरबारभित्रको भवन प्रतिवर्गफिट एक सय दुई रुपैयाँका दरले भाडामा करार दिने सम्झौता गरेको थियो ।

पोखराबाट उदाएको बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र कफीसप र रेस्टुरेन्टका लागि संरचना बनाउने काम तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिक निर्देशनमा नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिले बतास अर्गनाइजेसनलाई संरचना निर्माण रोक्न पत्र पठाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास अर्गनाइजेसनलाई क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिइएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समिति सदस्यहरूमा उपसचिव सूर्यमणि गौतम, टेकनारायण पौडेल, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।

बतास समूहले पाटन दरबार क्षेत्रको मल्लकालीन सम्पदामा पनि सम्झौता विपरीत व्यापार गरिरहेको खुलेको छ । उसले पाटन दरबार क्षेत्रमा पाटनको दरबारको पाटी पनि सस्तो दरमा लिएर सम्झौता विपरीत व्यापार गरिरहेको पाइएको हो ।

पाटन दरबार क्षेत्रको मंगलबजारपटि्टको कोत पाटी मल्लकालीन राजा श्रीनिवास मल्लले बनाएका हुन् । पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूह अन्तर्गतको बीपीएस लिजिङले ठेक्का लिएको छ । बीपीएसले नाम परिवर्तन गरेर अहिले बी म्यानेजमेन्ट बनाइएको छ । पुरातत्व विभागले पाटी सञ्चालनको जिम्मा पाटन संग्रहालय विकास समितिलाई दिएपछि वि.सं. २०७२ साउमा भाडामा लगाउन टेण्डर आह्वान गरेको थियो । हस्तकलाका सामानहरुको बिक्री कक्ष बनाउन भनेर टेण्डर आहृवान गरेको थियो । त्यतिबेला ६ वटा कम्पनीले बोलपत्र दर्ता गराएकोमा बतास समूहको बीपीएसले १५ वर्षको लागि ३० फागुन २०७३ बाट ठेक्का पायो ।