मङ्लबार, बैशाख २२, २०८३

प्रहरीमा बेथिति: जवानलाई बिदामा छाड्दै रासन भत्ताले गोजी भर्दै !


कान्तिपथ


सशस्त्र प्रहरी बलको उपत्यकाका केहि गण र गुल्ममा झुठो हाजिरी बनाएर हाकिमहरुले राशनमा बदमासी गरेको पाईएको छ । हाकिमहरुले बिदा छोडिएका प्रहरी जवानहरुको समेत फर्जी हाजिरी खडा गरेको भेटिएपछि राशन पानीमा ठूलै घोटालाको आशंका गरिएको हो । हाजिरीमा जनाइएका भन्दा आधा संख्यामा मात्रै कर्मचारी ड्युटीमा भेटिएपछि सशस्त्र मुख्यालयले उपत्यका हेर्ने पशुपति बाहिनीलाई पत्र काटेर स्पष्टीकरणसमेत सोधेको स्रोत बताउछ ।

१८ नम्बर गण (नीलबाराही,कीर्तिपुर र चोभार) मा ४३६ जनाको हाजिरी जनाइएकोमा अनुगमनका बेला जम्मा २०८ जना मात्र ड्युटीमा भेटिएका थिए । विपद व्यवस्थापन, सिनामंगल-एअरपोर्टस्थित २० नम्बर गणमा २८१ जनाको हाजिरी रहेकोमा १४७ जनामात्रै कार्यक्षेत्रमा उपस्थित थिए ।

२१ नम्बर (दक्षिणकाली- खुमलटार) गणमा हाजिरीमा २६१ जना थिए, तर अनुगमन टोली पुग्दा ७१ जनाको उपस्थिति भेटियो । २२ नम्बर (गुह्येश्वरी-भक्तपुर) गणमा ३४९ जनाको हाजिरी रहेकोमा १७३ जना र २४ नम्बर गुल्म (जमल)मा १३३ जनाको हाजिरी रहेकोमा ५० जना मात्रै ड्युटीमा भेटिएको पत्रमा उल्लेख छ ।

तलबभत्ता कि रासनभत्ता बढाउनु पर्‍यो ? यी दुईमा अप्सन आयो भने सुरक्षा निकायका कतिपय उच्च अधिकारीहरुको छनोट रासनभत्ता हुँदो रहेछ । अनि तल्ला तहका निम्छरा सुरक्षाकर्मीहरुको चाहना चाहिँ तलबभत्ता हुनेरहेछ । किन ? माथिका भनाइले नै पुष्टि गर्छ ।

सामान्यतया यसरी रासनभत्ता बढ्दा खुसी हुनुपर्ने हो । रासनभत्ता शासनभत्ता हुनेरहेछ । त्यसकारण उनीहरु खुसी छैनन् । उनीहरुले रासनभत्ता जति बढे पनि यो हाकिमका लागि हुने बताएका छन् ।

नाम नभन्ने सर्तमा एक जवानले भने, “रासन बढेको छ । अधिकृतहरुको भोज सुरु हुन थाल्यो होला ? किरा परेको चामल जवानलाई । हाकिमको चामल ५ केजीको सुनौंलो पोकामा । हामीले खाने भात अरे । उनीहरुले खाने भुजा अरे । जवानलाई भान्सा । उनीहरुको चाहिँ मेस भन्नुपर्ने, हैट ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत