बुधबार, जेष्ठ ४, २०७९

हिउँको तन्ना बिच्छ्याएर पर्यटक पर्खँदै पोरखे


कान्तिपथ


मार्तडी,३ फागुन (रासस) ःबाजुरा जिल्लाकै ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँंगारिएर बसेका छन् । विशाल वन क्षेत्र र हिउँका फाँटहरूले सजिएको कालाजाग्रा र पोरखेगढी क्षेत्र बडीमालिका र बूढीनन्दा नगरपालिकाको सीमा क्षेत्रसँगै जोडिएका छन् । पोरखे लेक जडिबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिकस्थलले पनि समृद्ध छ । गुफाभित्र अनौठा तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजाग्रा देवीको बासस्थानसमेत पोरखे क्षेत्रमै पर्छ । सुदूरपश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बडिमालिकासँग जोडिएको पोरखे र कालाजग्रा क्षेत्र जति रमणीय र सुन्दर छन्, त्यसभन्दा बढी स्रोतसाधन र सम्भावनाले समृद्ध र बलिया छन् ।

चारैतिर फैलिएको घनघोर जङ्गलका बीचमा रहेको ठूलो चट्टानको गुफाभित्रको ताल यसको अर्काे आकर्षण हो । धार्मिक आस्था र पशुपालनका लागि कालाजग्रा पुग्ने जतिको पहिलो रोजाइ गुफाताल नै हुने गरेको छ । हिउँदका चार महिना हिउँको घुम्टो ओढ्ने पोरखे क्षेत्र मार्तडीबाट अढाइ घण्टा र कोल्टी विमानस्थलबाट त्यत्तिकै समयमा कच्चीबाटामा जीपको यात्रापछि पुग्ने गरिन्छ । यतिबेला हिउँको तन्नामा सजिएका विशाल फाँटहरूको पोरखे अहिले जोकोहीलाई स्वागतका लागि पर्खेको छ । रमाइलोका लागि पैदल हिँडेर धार्मिक तथा ऐतिहासिक महत्वको पोरखे पुग्नेहरूको कमी छैन । हिउँले सजिएर मुस्कुराइरहेको पोरखे हेर्न र घुम्नको आनन्द बेग्लै हुन्छ । सेताम्य हिउँको पाटन र कालाजाग्रा गुफा तालसहितको पोरखे गढीको प्रवद्र्धनमा सुरुमा पदयात्रासहितको आन्तरिक पर्यटनले सकारात्मक सन्देश जाने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकाया बताउनुहुन्छ ।

कालाजाग्राको गुफा ताल नीलो आकाश जस्तै अनौठो र अच्चमलाग्दो देखिन्छ । यसको लम्बाइ, चौडाइ र गहिराइबारे कुनै खोज, अनुसन्धान नगरिएको तर निकै आकर्षक देखिएको बडीमालिका– ७ का वडाध्यक्ष धर्मराज पाध्याय बताउनुहुन्छ । एक सयभन्दा बढी जातका जडिबुटी तथा विभिन्न रङ्गचङ्गी फूलहरूको रमणीयस्थल पोरखे क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको चासो छैन । बडीमालिका र बूढीनन्दा नगरपालिकाकै विवाद छ । सो क्षेत्र दुवै पालिकाले आआफ्नो भएको दाबी गर्न छाडेका छैनन् । पहाडमाथिको मन्दिरबाट अछाम, कालीकोटका हिउँले सेताम्य पहाड, बझाङ्गको सैपाल हिमाल, मुगुको राराताल, बडीमालिका, बूढीनन्दालगायत ठाउँका मनमोहक रमणीय दृश्यावलोकन गर्न सकिन्छ । पोरखेगढी दरबार ऐतिहासिक महत्वको पोरखेगढी (सैन्य तालिम दिने र मित्र राज्यको भेटघाटस्थल) दरबार पोरखे क्षेत्रको अर्काे आकर्षण हो । कोल्टी क्षेत्रका चार स्थानीय तहबाट सदरमुकाम मार्तडी आवतजावतको प्रमुख पैदल तथा सडक मार्गमा पर्ने क्षेत्रमा पर्ने पोरखेगढी दरबार अहिले भग्नावस्थामा छ । वरिपरि करिब सात किलोमिटर घना वन क्षेत्र र चारैतिर उच्च हिमालका बीच समथर स्थानमा रहेको दरबारको संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा अवशेषका रूपमा मात्र देखिएको छ । तत्कालीन चौबिसे राज्यअन्तर्गत जुम्ला राज्यमा पर्ने दरबार पारखीको आँखा बाहिर परेको छ । बलियो जुम्लाका राजाको बलिया राज्यसँग सम्बन्ध विस्तार गर्ने र कमजोरलाई आफ्नो कब्जामा लिने रणनीति थियो । त्यही मनसायले जुगाडी राजासँग सम्बन्ध विस्तार गर्न मार्तडीबाट तीन घण्टाको पैदल दूरीमा पर्ने प्राकृतिक सुन्दरताको बीच दरबार निर्माण गरिएको हो । तत्कालीन जुगाडी राजाको सम्बन्ध त्यस बेला बझाङ्गी राजासँग थियो । दुवै शक्तिमा थिए । कालीकोट, बार्जु, अछाम र मुगाली राज्यलाई कब्जामा लिने रणनीतिअनुरुप सो स्थानमा दरबार निर्माण गरिएको स्थानीय जानकार तुलाराम जैसी बताउनुहुन्छ । हाल ढुङ्गा र जगको अवशेष पाइने सो दरबारमा सैन्य तालिम दिने गरिन्थ्यो भने जुम्ला र जुगाडाबाट राजाहरू आएर भेटघाट गर्थे ।

हिउँदका चार महिना हिउँले ढाकिने अवधिभर दरबारभित्र सैन्य तालिम दिने, सैन्य सामान ढुवानी गर्ने र अन्य समय लडाइँका लागि तयारी गर्ने गरिएको जुगाडी राजाका सन्तान बताउँछन् । उच्च स्थानमा पर्ने पोरखेमा बार्जुकोट, कालीकोट, मुगाली कोट र बझाङ्गी राजाको आवतजावत हुने भएकाले दरबार निर्माण गरिएको इतिहासका जानकार नेकपा( एमाले ) बाजुराका उपसचिव जनककुमार बोहराले बताउनुभयो । स्थानीय राजनीतिक अगुवा पूर्णबहादुर रावत भने दरबार एकै दिन निर्माण गर्न नसकिएकाले अधुरै रहेको बताउनुहुन्छ । पोरखेगढीको ऐतिहासिक, सांस्कृतिक महत्वबारे अध्ययन नभएको र तत्कालीन राजाका सन्तान पनि यसबारे जानकार नभएको बताइन्छ । हाल राष्ट्रिय वन क्षेत्रमा पर्ने पोरखे वन क्षेत्रमा चणिदह, बार्या ताल, पोरखे ताल, कालाजग्रा गुफा ताल गरी छ सानाठूला सुन्दर ताल छन् । घनाजङ्गलभित्र, लोपोन्मुख पशुपक्षीको बासस्थान छ । जिल्लामा अध्ययन, अनुसन्धान नहुँदा दर्जनौँ कोट ओझेलमा छन् । पर्यटकीय गन्तव्य बनाउन पहल पोरखे क्षेत्रका पर्यटकीय तथा धार्मिक गन्तव्यलाई वडाले संरक्षणका लागि पहल गरेको छ । बडीमालिका–७ का वडाध्यक्ष पाध्यायका अनुसार वन क्षेत्र संरक्षणदेखि संरचना निर्माण भइरहेको छ । कालाजाग्रा माताको मन्दिर तथा आवतजावतका लागि अप्ठ्यारा अवस्थामा रहेको बाटालाई मर्मत गरिनाका साथै सिँढी निर्माण गरिएको छ । गुफातालदेखि मन्दिरसम्म जाने बाटामा सिँढी निर्माण गर्ने योजना निर्माण गरिएको छ । ढम्कनेमा मनोरञ्जनोद्यानसमेत निर्माण सुरु गरिएको छ । स्थानीयवासीले कालाजाग्रा क्षेत्रको संरक्षण तथा पर्यटकीय गतिविधि सञ्चालन गरेका छन् । स्थानीयस्तरबाट आलु महोत्सवदेखि साहित्यिक यात्रा र पैदल यात्रा जस्ता कार्यक्रम पनि गरिएको छ । कालाजाग्रा र पोरखे क्षेत्रको प्रवद्र्धनका लागि पोष्टर, पम्पलेट र पात्रो बनाउने तथा बिक्री गर्ने काम गरिएको छ । हुनुपर्ने जति प्रचारप्रसार र सहज आवतजावतका लागि मार्ग नहुँदा गन्तव्य ओझेलमा परेको वडा सदस्यसमेत रहनुभएका नेपाली कांग्रेसका नेता धनलाल पाध्यायले बताउनुभयो ।

पदमार्ग निर्माण गर्न सके खप्तड हुँदै मुगुको रारा र बडिमालिका, बूढीनन्दा पुग्ने सबै पर्यटक कालाजाग्रा जाने सम्भावना छ । खप्तड, रारा पैदलमार्गका बीच बाटामा पर्ने पोरेख क्षेत्र पर्यटकका लागि गन्तव्य बन्ने सम्भावना छ । बास बस्नका लागि ठूला चौर र जङ्गल क्षेत्र भएको र हिउँदमा हिउँसँग रमाउन पाइने भएकाले थप सजिलो हुने विश्वास स्थानीयवासीको छ । नगर क्षेत्रबाट पनि पहल भइरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभयो । उहाँका अनुसार पोरखे र कालाजग्रा जस्तै नगरपालिका क्षेत्रभित्र रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान नगरपालिकाले गर्दै आएको छ । यहाँका पोरखे, कालाजाग्रा, दहडाँडा, डडुल्लेलगायत पर्यटकीय क्षेत्रको पहिचान गरी प्रवद्र्धन गर्न नगरपालिका कार्ययोजना बनाएर अघि बढेको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो । हिउँकै आँगनमा गजल वाचन तीन वर्ष पहिले प्रणय दिवसका अवसरमा पोरखेगढीमा गजल वाचन कार्यक्रम आयोजना गरिएको थियो । हिउँका आँगनमा प्रकृतिसँग जोरी खोज्दै गजल वाचन गरिएको सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताउनुभयो । प्रतिष्ठानले जिल्लामा साहित्यिक गतिविधि बढाई कला, साहित्यको संरक्षण र प्रवद्र्धन गर्न प्रत्येक वर्ष प्रणय दिवसको दिन कार्यक्रम आयोजना गर्ने गरेको छप्रतिष्ठ

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत